वृक्षारोपण

राउन्ड टेवल नेपालको 'ट्री प्लान्टेसन अभियान', १ लाख ८९ हजार वृक्षारोपण

सोमबार, साउन २२, २०८०

वीरगञ्ज । देशभरमा एक लाख वृक्ष रोपण गर्ने उद्देश्यका साथ सुरु भएको राउन्ड टेबल नेपालको अभियान आइतबार सम्पन्न भएको छ । 

National medical suchna

जलवायु परिवर्तनबाट पर्यावरणलाई जोगाउनुका साथै प्रदूषण नियन्त्रण र रुखको महत्त्व बारे जागरूकता फैलाउने उद्देश्यका साथ राउन्ड टेबल नेपालले सुरु गरेको अभियान सम्पन्न भएको हो । अभियानका क्रममा राउन्ड टेबल नेपालले लक्ष्यभन्दा पनि बढी झन्डै १ लाख ८९ हजार वृक्षहरू वितरण गरेको छ ।

पर्साको पोखरिया नगरपालिकामा संस्थाले आयोजना गरेको कार्यक्रममा मेयरलगायतका जनप्रतिनिधिलाई ४० हजार वटा वृक्ष हस्तान्तरण गर्दै कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मधेस सरकारका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले पछिल्लो समय प्रदेशमा देखिएको पानीको हाहाकारले बोटबिरुवाको महत्त्व बारे थप सचेत गराएको बताए ।

चुरे दोहन, अनियन्त्रित वन विनाश र सहरीकरणले गर्दा पानीको हाहाकार निम्त्याएको बताउँदै उनले समाधानका लागि बढीभन्दा बढी रुखहरू रोप्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा बोल्दै राउन्ड टेबल नेपालका पूर्व राष्ट्रिय अध्यक्ष एवम् ४१ वनर्स क्लबका राष्ट्रिय अध्यक्ष मनोज कुमार दासले वृक्षारोपण जस्तो महत्त्वपूर्ण काम गरेकोमा राउन्ड टेबल नेपाल प्रति आभार प्रकट गरे ।

जलवायु परिवर्तन, प्रदूषण र ग्रिन हाउस ग्याँस उत्सर्जनका कारण सङ्कट तर्फ अघि बढिरहेको संसारलाई जोगाउन वृक्षारोपणले ठूलो भूमिका खेल्ने बताउँदै उनले अन्य सङ्घ संस्थाहरूलाई पनि राउन्ड टेबलबाट पाठ सिक्नुपर्ने धारणा राखे ।

राउन्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले वृक्षारोपण मार्फत मान्छेले प्रकृतिलाई प्रयोग गरेर उठाएको फाइदा बापत ऋण तिर्न सक्ने बताए ।  

उनले भने, ‘एक अध्ययनअनुसार एउटा मान्छेले जीवनभरमा विभिन्न कामका लागि पाँच वटा रुख प्रयोग गर्छ तर एउटा पनि रोप्दैन, रोपे पनि हुर्काउँदैन । वृक्षारोपण हाम्रो लागि प्रकृतिबाट लिइएको ऋण फिर्ता गर्ने एउटा उपाय हो । पाँच वटाको सट्टा हामीले २० वटा रुख रोप्दै त्यसलाई हुर्काएर ऋण चुक्ता गर्नुपर्छ ।’ 

३५ औँ वार्षिकोत्सवको अवसरमा राउन्ड टेबल नेपालले लिएको एक लाख वृक्ष रोप्ने लक्ष्यभन्दा पनि बढी प्राप्त गर्न सहयोग गर्ने संस्थाका सदस्य र सहयोगी सङ्घ संस्थाहरूलाई पनि उनले धन्यवाद दिए । उनले आगामी दिनमा पनि संस्थाले सबैसँग यसै प्रकारको सहयोगको अपेक्षा गरेको बताए । 

मेयर चौहानकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर रूबी कुमारी ठाकुर, संविधानसभा सदस्य रामेश्वर प्रसाद रौनियार, राउन्ड टेबल नेपाल एसिया प्यासिफिक रिजनका अध्यक्ष सौरभ केडिया, पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य नेजामुदिन समानी, नेकपा एमाले पोखरिया नगर कमिटीका अध्यक्ष विधाञ्चल ठाकुर, पूर्व गाविस अध्यक्ष जोगेन्द्र प्रसाद कुर्मी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, राउन्ड टेबल नेपालका सदस्यलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय