सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । विभिन्न मागहरु राखेर वीरगंजमा अनशन बसेका पटेर्वा सुगौली गाउपालिकाका स्थानीय रामजन्म ओझैयालाई वार्तामा आउन पटेर्वा सुगौली गाउपालिकाले अनुरोध गरेको छ।
पटेर्वा सुगौली गाउपालिकाले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा गाउपालिकाकी उपाध्यक्ष ममता महतोले अनशनरत ओझैयालाई वार्तामा आउन आग्रह गरेकी हुन।
पत्रकार सम्मेलनमा उपाध्यक्ष महतोले गाउँपालिकाको वडा नं ३ पश्चिमारी देकुली बस्ने रामजन्म ओझैयाले यस गाउँपालिकाको कार्यालय संग केही माग राखी अन्सन बसेको भन्ने कुरा सामाजिक सञ्जालबाट बुझिन आएकोमा यस गाउँपालिका कार्यालयको ध्यानाकर्षण भएको जनाईन ।
निज के कति कारणले अन्सन बसेको हो ? निजको के - के माग रहेको छ ? सो सम्बन्धमा बुझ्न र पुरा गर्न सकिने जायज मागहरु पुरा गर्न जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रकाश बस्नेत समेतको उपस्थितिमा वार्ताको लागि गाउँपालिकाको प्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव र २ नं वडा अध्यक्ष विजय गैरे लगाएतकाले वार्ताको लागि समन्वय तथा प्रस्ताव राखेकोमा ओझैयाले वार्तामा वस्न नमानेको उनले बताईन।
गाउँपालिकाको कार्यालयले ओझैया संग जुनसुकै बेला वार्ता गर्न तयार रहेको र सोको लागि पटक पटक आग्रह गर्दा समेत ओझैयाले बेवास्ता गर्दै आएको संचारकर्मीलाई जानकारी दिईन ।
अनशनरत ओझैयालाई पत्रकार सम्मेलन मार्फत आफ्नो अनशन तोडी वार्तामा आउन आग्रह गरेकी हुन।
पटेर्वा सुगौली गाउँपालिकाको कार्यालय कुनै पनि व्यक्ति वा संस्थाले प्रचलित कानून बमोजिम कुनै पनि सूचना माग गर्दा कानूनले तोके बमोजिमको समयमा नै उपलब्ध गराएको र यस पछि पनि माग हुने सूचना उपलब्ध गराउने जानकारी दिईन ।
गाउपालिकाको बेथिती विरूद्ध वीरगञ्जको घण्टाघर अगाड़ी अनशन बसेका ओझैयाको स्वास्थ्य अवस्था बिग्रेपछि नारायणी अस्पतालमा उनको उपचार भईरहेको छ ।