महिला भलिबल

एसियाली खेलकुद : महिला भलिबल खेलाडीको लागि सबैभन्दा ठूलो अवसर

सोमबार, साउन १५, २०८०

काठमाडौं । पहिलोपल्ट एसियाली खेलकुद खेल्न पाएको नेपाली महिला भलिबल टिम तयारीमा व्यस्त छ । एसियाली खेलकुद नेपाली महिला भलिबल खेलाडीको लागि सबैभन्दा ठूलो अवसर हो ।

National medical suchna

त्यसैले खेलाडीहरु यो अवसर खेर नफाली प्रतियोगितामा राम्रो गर्ने लक्ष्यसहित अभ्यासमा छन् । ‘हाम्रो लागि यो चुनौती त हो नै चुनौतीभन्दा पनि हामीले यसलाई अवसरका रुपमा लिएका छौं’, कप्तान अरुणा शाही भन्छिन्, ‘हाम्रो लागि यो इतिहास हो ।

धेरै बलिया टिमसँग खेल्दा हामीले सिक्ने मौका पाउनेछौं ।’एसियाली खेलकुदमा एसियाका बलिया टिम पनि सहभागी हुनेछन् ।बलिया टिमसँग खेल्दा राम्रो एक्सपोजर पाउने र यसले अरु अवसरको ढोका खुल्ने संभावनालाई खेलाडीले बुझेका छन् ।

हाम्रो लागि यो एकदमै खास प्रतियोगिता हो,’ कप्तान अरुणाले भनिन्, ‘हामीले यस प्रतियोगितामा राम्रो गरेको खण्डमा विदेशी लिग खेल्न पाउने अवसर मिल्न सक्छ ।’

दुई स्पाइकर प्रतिभा माली र उषा भण्डारीले विदेशी लिग खेलिरहेका छन् । एसियन गेम्सपछि अन्य खेलाडीका लागि पनि विदेशी लिगको ढोका खुल्न सक्ने छ ।

‘अरुले पनि नेपाललाई चिन्ने मौका हुनेछ । अन्य खेलाडीलाई पनि विदेशी लिगको अफर आउन सक्छ । यो निकै फरक अनुभव हुनेछ’, कप्तान अरुणाले भनिन् ।नेपाली टिमले घरेलु मैदानमा काभा वुमन्स च्यालेन्ज कप खेल्यो ।

त्यसबाट १/२ हप्तामात्र आराम पाएका खेलाडीले पुनः सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता खेले । असार ३० गते प्रतियोगिता सकेका खेलाडीको २ साउनदेखि एसियनका लागि प्रशिक्षण सुरु भयो ।

लगातारको प्रतियोगिता र त्यसलगत्तै सुरु भएको बन्द प्रशिक्षणमा रहेका खेलाडीमा फिटनेसको कुनै समस्या छैन । ‘हामी लगातार खेलबाट आएकाले लो इन्टेन्सिटीको ट्रेनिङबाट सुरु गरेका छौं । अब बढाउँदै लैजाने हो’, अरुणाले भनिन् ।

नेपालको १२ सदस्यीय टिममा काभा वुमन्स च्यालेन्ज कप खेलेका ४ खेलाडी छैनन् । स्पाइकमा प्रतिभा माली र सेटरमा त्रिभुवन आर्मी क्लबकी जानकी भण्डारीले मौका पाएका छन् । ‘हामी अहिले १२ खेलाडीसँग तयारी गरिरहेका छौं ।

प्रायः अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा १४ जना खेलाडी हुन्छन् तर एसियन गेम्समा १२ जनाको कोटा रहेछ’, प्रशिक्षक जान डी ब्रान्टले भने ।


नेपाली टिम

सेटर : अरुणा शाही र जानकी भण्डारी मिडल

ब्लकर : सफिया पुन, संगम महतो र कविता भट्ट

लिबेरो : सलिना श्रेष्ठ

स्पाइकर : सरस्वती चौधरी, प्रतिभा माली, निरुता ठगुन्ना, उषा भण्डारी, पुनम चन्द र कामना विष्ट

समूह विभाजन

समूह ए : चीन, भारत, उत्तर कोरिया

समूह बी : थाइल्याण्ड, चाइनिज ताइपेइ, मंगोलिया

समूह सी : दक्षिण कोरिया, भियतनाम, नेपाल

समूह डी : जापान, कजाकस्तान, अफगानिस्तान, हङकङ र चीन ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय