समस्या पानीको

महानगरको प्रयास : ट्यांकर र टंकीबाट टोल-टोलमा पानी उपलब्ध गराउँदै

बिहीबार, साउन ११, २०८०

वीरगञ्ज । वीरगञ्जको अधिकांस क्षेत्रमा चापाकल सुकेर पानीको अभाव हुन थालेपछि महानगरपालिकाले विभिन्न वडामा ट्यांकरबाट पानी वितरण गर्ने कार्यलाई तिब्रता दिएको छ । 

National medical suchna

महानगरले ट्यांकरबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्यांकी नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो । 

महानगरले वडाहरुमा पानी वितरणका लागि समय तालिका नै सार्वजनिक गरेको छ ।

नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो । 

विहान ५ बजेदेखि राती ८ बजेसम्म विभिन्न १९ वटा वडामा ट्यांकरमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउने मेयर सिंहले बताउनुभयो । 
ट्यांकरबाट अहिलेसम्म १९ वटा वटामा दैनिक पानी उपलब्ध गराइरहेको र अहिलेसम्म ७ वटा वडाको विभिन्न स्थानमा अस्थायी ट्यांकी राखिएको छ ।

यसका साथै खानेपानी संस्थानको पाइपलाईन विस्तार भएका ठाउँको सार्वजनिक स्थानहरुमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तिब्रता दिएको छ ।  

खानेपानीको पाइपलाइन वडा नम्वर १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका सार्वजनिक स्थानमा पानीको धारा राख्ने काम भइरहेको महानगरको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईँले जानकारी दिनुभयो । 

जलस्तर तल झरेपछि वीरगञ्जका विभिन्न वडाका हजारौँ चापाकलहरु सुकेका छन् । 
तत्कालै प्राकृतिक रूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्यांकीमार्फत अस्थायी रूपमा समस्या समाधानको प्रयास गरिरहेको हो । 

यस वर्ष अपेक्षाकृत निकै कम वर्षा भएकाले समस्या आएको हो ।

‘यो प्राकृतिक विपत् भएकाले तत्काल पानीको अस्थायी व्यवस्थापनका लागि खानेपानी संस्थानसँगको समन्वयमा सार्वजनिक स्थानमा पानीको धारा जोड्ने काम गरिरहेका छौँ,’ मेयर सिंहले भन्नुभयो, ‘ट्यांकर र टंकी राखेर महानगर आफैँले पानी वितरण गरिरहेको छ ।’

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय