सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज । वीरगन्ज उद्योग वाणिज्य संघले वर्तमान परिस्थितिमा वीरगंजवासीलाई सजग र संयमित रहन् अनुरोध गरेको छ ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले वीरगन्जको वर्तमानको असहज परिस्थितिलाई सबै पक्ष मिलेर समाधान गर्ने तर्फ सबैको सामूहिक भूमिका केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।
शान्ति र सद्भावबाटै समाज समुन्नत हुने भएकोले वीरगन्जलाई शान्त र समुन्नत बनाउन सहयोग गर्नु सरोकारवाला सबैपक्षमा अनुरोधपनि संघले गरेको छ ।
गत शनिबार वीरगन्जमा हनुमान जन्मोत्सवको शोभा यात्रामा दुई पक्ष बीच भएको झडप र त्यसबाट सिर्जना भएको तनाव र विकसित घटनाक्रम प्रति संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै संघका अध्यक्ष हरि गौतमले “सर्व धर्म समभाव” को मूल अभिष्टलाई प्रबद्र्धन गर्दै समाजलाई समुन्नत र सुसंस्कृत बनाएर लैजानु पर्ने दायित्व प्रत्येक नगरवासीको रहेको हुँदा वर्तमानको असहज परिस्थितिमा वीरगन्जबासीलाई संयमित र सजग रहन अनुरोधपनि गरेका छन् ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–मुलुकको आर्थिक राजधानीका रुपमा आफ्नो पहिचान बनाइरहेको वीरगन्जको आर्थिक शक्ति र सामथ्र्यलाई सबैको सहयोग र सहकार्यबाट सुदृढ बनाउनु पर्ने आवश्यकता यतिखेर रहेको हामीले अनुभूत गरेका छौं ।
पछिल्ला केही वर्षदेखि मधेस आन्दोलन, कोभिड १९ लगायतका कारण उद्योग, व्यापार, व्यवसायमा आएको संकुचन र गतिहीनताको प्रभाव वीरगञ्जले पनि प्रत्यक्ष रुपले भोगिरहेको हामीले अनुभूत गरेकै विषय हो ।
यताका दिनहरुमा विस्तारै भए पनि उद्योग, व्यापारमा केही सुधार र अर्थतन्त्र गतिशील भइरहेको हो कि भन्ने आभाष भइरहेकै बेला पुनः यस किसिमको अवस्था सिर्जना हुनु हामी सबै नगरवासीका लागि दुखद मात्र होइन विचारणीय विषय पनि रहेको छ ।