सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले नेपाल विद्युत प्राधिकरणद्वारा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका उद्योग प्रतिष्ठानहरूमा अघोषित लोडसेडिङ र बिना सूचना विद्युत कटौती भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सङ्घद्वारा आज जारी प्रेस विज्ञप्तिमा उद्योगहरूको अक्सिजन सरह महत्त्वपूर्ण विद्युत आपूर्ति अवरुद्ध हुँदा कोरिडोरका उद्योगहरू निर्धारित क्षमताभन्दा निकै कम उत्पादनमा सिमित रहनु परेको उल्लेख गरिएको छ।
केही वर्ष अघि नेपाल विद्युत प्राधिकरणले घोषणा गरेको ूलोडसेडिङमुक्त औद्योगिक क्षेत्रू र ूउज्यालो नेपालू नाराबाट उत्साहित भएका उद्योगी व्यवसायीहरू अहिले पुनः बढ्दो विद्युत कटौती र गुणस्तरहीन आपूर्तिको समस्यामा परेको सङ्घले जनाएको छ। विद्युत आपूर्तिको अव्यवस्थाले उद्योगका उपकरण र कच्चा पदार्थहरू नोक्सानीमा पर्ने, उत्पादन प्रक्रियामा असर पर्ने र उद्योगीहरूलाई आर्थिक मर्का पर्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ।
डिजल जेनरेटर प्रयोग गरेर उद्योग सञ्चालन गर्दा उत्पादन लागत अत्यधिक बढ्ने र प्रतिस्पर्धात्मक क्षमतामा गिरावट आउने चिन्ता सङ्घले व्यक्त गरेको छ। साथै, साना उद्योगहरूमा विद्युत कटौती हुँदा वैकल्पिक जेनरेटरको अभावमा उद्योग बन्द गर्नु पर्ने बाध्यता रहेको बताइएको छ।
उद्योग फिडरमा २४ घण्टामा १४–१५ पटकसम्म ट्रिपिङ्ग हुने समस्या समाधान गर्न लोडसेडिङको निश्चित समय तालिका सार्वजनिक गर्न र बाँकी समयमा गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न सङ्घले आग्रह गरेको छ। साथै, हरेक वर्ष हिउँद याममा देखिँदै आएको विद्युत आपूर्ति समस्या समाधानका लागि दीर्घकालीन रणनीति तयार पार्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
विद्युत महसुल बापत उद्योगहरूले समयमै भुक्तानी गर्दै आए पनि प्राधिकरणले सोही अनुरूप गुणस्तरीय आपूर्ति गर्नुपर्ने माग पनि विज्ञप्तिमार्फत गरिएको छ। सङ्घले समस्याको शीघ्र समाधान र वैकल्पिक व्यवस्था सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणसँग जोडदार माग गरेको छ।