सोसल मिडिया
हाम्रो बारेमा
बारा । बारामा प्रहरी कर्मचारीको हत्यामा संलग्न राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का इन्सपेक्टरसहित तीन जना पक्राउ परेका छन्।
जितपुर सिमरा उपमहानगरपालिका–१ घर भएका राज कुमार रूम्बाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा महोत्तरी जलेश्वर नगरपालिका–३ घर भई बारामा कार्यरुत गुप्तचरका इन्सपेक्टर श्रीकान्त तिवारीको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
तिवारीसहित प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१९ घर भएका २७ वर्षीय पुरूषोत्तम कुमार दास र २० वर्षीय ईन्द्रजित कुमार चौहानलाई पक्राउ गरी बारा प्रहरीले सार्वजनिक गरेको छ ।
जितपुर सिमरा उपमहानगरपालिका–११ स्थित बकुलिया देखी रमौली लोसन्डा जाने सडक छेउमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा राज कुमार पुस ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए । सो कार गुप्तचरका इन्सपेक्टर तिवारीको हो।
उनीहरुले कलैया जाने भनेर रुम्बालाई बोलाएको बाटोमा पिसाब फेर्न भनेर गाडी रोकी टाउकोमा गोली हानेर हत्या गरेको बाराका एसपी महेन्द्र खड्काले बताए। गोली दासले प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटनापछि रुम्बाको सुनको सिक्रि तथा झोला समेत दासले नै लिएर गएकोमा प्रहरीले सो बरामद गरेको छ । तर, हत्यामा प्रयोग भएको पेस्तोल भने भेटिएको छैन ।
हत्याको कारण अझै प्रष्ट हुन नसकेको प्रहरीले जनाएको छ । ‘उनीहरुबिच पुरानो रिसिइवी पनि देखिन्छ,’ एसपी खड्काले भने,‘गहना पनि लुटिएको छ, थप कारणबारे अनुसन्धान भइरहेको छ ।’
गुप्तचरका इन्सपेक्टरको हत्यामा कस्तो भूमिका थियो भन्नेबारे प्रहरीले केही बताएको छैन । एसपी खड्काका अनुसार मृतकका परिवारले उनीविरुद्ध पनि किटानी जाहेरी दिएका छन् ।
साथै, उनले के कारणले सो कार रुम्बालाई दिए भन्ने विषयमा थप अनुसन्धानका लागि उनलाई पनि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाउपर जिल्ला अदालत बाराबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।
मृतक रुम्बा सिमरा विमानस्थलमा कार्यरत थिए। घटनामा संलग्न केही व्यक्ति अझै फरार रहेको प्रहरी स्रोत बताउँछ ।