समसामयिक :

पर्सामा रित्तिँदै जसपा नेपाल, पाँच निर्वाचित वडा सदस्यले गरे जसपामा प्रवेश

शनिबार, कात्तिक १०, २०८१

वीरगञ्ज, १० कात्तिक । पर्सा जिल्लामा जनता समाजवादी पार्टी नेपालको (जसपा नेपाल) नेतृत्वसँग असन्तुष्ट पाँच जना वडा सदस्यहरूले आज औपचारिक रूपमा जनता समाजवादी नेपाल (जसपा) मा प्रवेश गर्नुभएको छ ।

पर्सागढी नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित राजकुमार गुरुङ, रुस्तम हवारी, लाल साह देवी र तेतरी देवीले जसपा नेपाल परित्याग गर्दै जसपामा प्रवेश गर्नुभएको हो ।

यस्तै, वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का वडा सदस्य जगन महतोले पनि पार्टी परिवर्तन गर्दै जसपामा सामेल हुनुभएको छ ।

नवप्रवेशी जनप्रतिनिधिहरूले जसपा नेपालको नेतृत्वले बारम्बार जनआकाङ्क्षाको धोका गरेको, सत्ता स्वार्थका लागि अनैतिक सम्झौता गरेको र सङ्गठनलाई कमजोर बनाएको टिप्पणी गर्दै पार्टी परित्याग गरेको बताउनुभयो ।

खानेपानी मन्त्री प्रदीप यादवले नवप्रवेशी वडा सदस्यहरूलाई स्वागत गर्नुहुँदै पार्टीको निरन्तर विस्तार र बलियो सङ्गठन निर्माणप्रति प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “जसपा नेपालको नेतृत्वबाट निराश भएका नेताहरू र जनप्रतिनिधिहरू जसपामा प्रवेश गर्नु भइरहेको छ । यो केवल सुरुवात हो ।

पर्सा जिल्लाका अन्य नेताहरू र पदाधिकारीहरू पनि चाँडै नै हाम्रो पार्टीमा सामेल हुनुहुन्छ ।”

जसपाको उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले जसपा नै अबको राजनीतिक शक्ति केन्द्र भएको दाबी गर्दै भन्नुभयो, “देशलाई सही नेतृत्व दिन र जनताको हकहितका मुद्दामा इमानदार रूपमा काम गर्न चाहने सबैलाई म जसपामा प्रवेश गर्न आह्वान गर्दछु ।”

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री यादवले जसपा नेपालका नेताहरूले सत्ता स्वार्थका लागि पटक-पटक सम्झौता गरेको र जनताको विश्वास गुमाएको आरोप पनि लगाउनुभयो ।

“सत्ताको लागि नेतृत्वले अनैतिक सम्झौता गर्ने र आफ्ना सदस्यहरूको चासो बेवास्ता गर्ने प्रवृत्तिले नै हामीले नयाँ पार्टीको आवश्यकता महसुस गर्दै जसपा गठन गर्‍यौँ ।

अब जसपा नेपालका सबै इमानदार नेता तथा कार्यकर्ताहरूलाई हाम्रो साथमा आउन आह्वान गर्छु,” उहाँले भन्नुभयो ।

नवप्रवेशी सदस्यहरूलाई जिम्मेवारीका साथ अगाडि बढ्न प्रेरित गर्नुहुँदै उहाँले भन्नुभयो, “अब हामी सबै मिलेर पार्टीको सिद्धान्त र उद्देश्यअनुरूप जनताको जीवनस्तर सुधार्न र देशको समृद्धिको यात्रा अगाडि बढाउन प्रतिबद्ध छौँ ।

यो बृहत् विस्तार हाम्रो सामूहिक प्रयास र जनताको चाहनाप्रति थप जिम्मेवारीको सङ्केत हो ।”

जनता समाजवादी नेपालको यस अभियानले पर्सा जिल्लामा पार्टीको जनधार विस्तारमा ठूलो टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

नवप्रवेशी वडा सदस्यहरूको सामूहिक सहभागिताले पार्टीभित्र सकारात्मक ऊर्जा भरेको भन्दै यादवले जसपाको भविष्य उज्ज्वल रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष एवम् बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली, मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारीलगायतको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय