समसामयिक :

सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन मन्त्री यादवको निर्देशन

शुक्रबार, असोज १८, २०८१

काठमाडौँ, १८ असोज । खानेपानी मन्त्री प्रदीप यादवले सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रियाहरू पूरा गर्न निर्देशन दिनुभएको छ । 

आज काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) मा फोहोर पानी आधारित निगरानी प्रयोगशालाको उद्घाटन गर्नुहुँदै मन्त्री यादवले यस्तो निर्देशन दिनुभएको हो ।

उद्घाटन सत्रमा मन्त्री यादवले भन्नुभयो, “राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा ललितपुर जिल्लामा खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन र अन्य आवश्यक प्रक्रियाहरू पूरा गर्नुहोस् ।”

जिटुजी कार्यक्रमअन्तर्गत सिस्नेरी खानेपानी आयोजनाको कार्यान्वयनका लागि सम्भावनाहरूको पहिचान गर्न पनि मन्त्री यादवले निर्देशन दिनुभएको छ ।

मन्त्री यादवले नेपालमा पहिलो पटक फोहोर पानी आधारित निगरानी प्रणालीको लागि तयार गरिएको प्रयोगशालामा खुसी व्यक्त गर्दै भन्नुभयो, “यो प्रणाली प्रारम्भिक चेतावनी प्रणालीको रूपमा कार्य गर्नेछ, जसको ठूलो महत्त्व छ । हाल यो प्रणालीले केही रोगहरूको मात्र अध्ययन गर्नेछ, तर यसको थप विकास आवश्यक छ ।”

उक्त प्रयोगशाला आजदेखि सञ्चालनमा आएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख एवम् कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिनुभएको छ ।

यसैबिच, मन्त्री यादवले काठमाडौँको कीर्तिपुरको सुन्दरीघाटस्थित ‘इलेक्ट्रोमेकानिकल’ शाखामा बाढीले क्षति पुर्‍याएका महत्त्वपूर्ण उपकरणहरूको मर्मतको प्रगति अवलोकन गर्नुभएको छ ।

निरीक्षणका क्रममा उनले बाढीले क्षति पुर्‍याएका उपकरणहरूको मर्मत कार्य अघि बढाउन निर्देशन पनि दिनुभएको थियो ।

सोही क्रममा मन्त्री यादवले सुन्दरीघाटस्थित पानी प्रशोधन केन्द्र र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) को गोदामको पनि अवलोकन गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय