नारायणी अस्पताल

जेनरेटर अभावमा ३० करोड रुपैयाँको 'एमआरआई' मेसिन प्रयोग विहीन

आइतबार, साउन ७, २०८०

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिन चार महिनादेखि प्रयोग विहीन अवस्थामा अलपत्र परेको छ ।

National medical suchna

सङ्घ सरकारको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले टेन्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत खरिद गरेको एमआरआई मेसिन नारायणी अस्पतालमा गत चैत अन्तिम हप्ता नै आइपुगेको थियो । तर अस्पताल प्रशासनको लापरबाहीका कारण उक्त मेसिन अहिलेसम्म पनि सञ्चालनमा भने आउन नसकेर अलपत्र परेको हो ।

यसअघि गत जेठ २५ मा अस्पताल प्रशासन स्वयंले एक सूचना नै जारी गरेर अस्पतालमा एमआरआई सेवा गत असार १५ गतेदेखि नै सुरु गरिने जानकारी गराएको थियो । तर अस्पताल प्रशासनले जारी गरेको उक्त सूचनामा उल्लेख गरिएको मिति बितेको तीन हप्ता भइसक्दा पनि एमआरआई सेवा सुरु हुन सकेको छैन ।

अस्पतालको भवनमा एमआरआई कक्ष तयार गरी एमआरआई मेसिन जडान गरिसकिएको भए पनि उक्त मेसिन सञ्चालनका आवश्यक जेनरेटरको व्यवस्थापन हुन सक्दा मेसिन प्रयोगविहीन अवस्थामा अलपत्र परेको हो ।

अस्पतालमा एमआरआई मेसिन आपूर्ति गरेको आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिका प्राविधिक इन्जिनियर विनोद चौधरीका अनुसार एमआरआई मेसिन सञ्चालनका लागि ५०० केभिए क्षमताको जेनरेटर चाहिन्छ । चौधरीले भने, ‘मेसिनलाई २४ सै घण्टा चिसोमा राख्नुपर्छ, यदि १० मिनेट पनि पावर सप्लाई बन्द भयो मेसिनबाट अति संवेदनशील र महँगो लिथियम ग्याँस लिक भई हाल्छ, जसले ठुलो क्षति हुनसक्छ, त्यसका कारण यो मसिनका लागि ५०० केभीए क्षमताकै जेनरेटर चाहिन्छ ।’

तर हाल अस्पताल प्रशासनसँग २०० केभीए क्षमताको मात्रै जेनरेटर छ । उक्त जेनरेटरबाटै अस्पतालका विभिन्न कक्षमा विद्युत् आपूर्ति भइरहेको छ । त्यस कारण एमआरआई मेसिनलाई आवश्यक विद्युतीय ऊर्जा उक्त जेनरेटरबाट आपूर्ति हुन सक्ने अवस्था नभएकाले छुट्टै ५०० केभीए क्षमताको अर्को जेनरेटर नै आवश्यक भएको इन्जिनियर चौधरीले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर चित्तरञ्जन साह अनुसार एमआरआई कक्षमा मेसिन जडान कार्य सकेर एक महिना पहिले २०० केभीए क्षमताकै जेनरेटर चलाएर मेसिनको परीक्षण गरिएको थियो । तर त्यस क्रममा आवश्यक विद्युतीय ऊर्जा नपुग्दा मेसिनबाट हिलियम ग्याँस लिक भएको थियो ।

मेसिन सञ्चालनका लागि चाहिने ५०० केभीए क्षमताको नयाँ जेनरेटर खरिदका लागि आवश्यक बजेट अस्पतालसँग  हाल उपलब्ध नभएको अस्पतालका मेसु साहले बताए । बजेटको व्यवस्थापन नहुँदा सम्मका लागि अस्पताल प्रशासनले मासिक ४ लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरी ५०० केभीए क्षमताको जेनरेटर ल्याएर अस्पतालमा राखेको छ । तर भाडामा जेनरेटर ल्याएको दुई हप्ता बितिसक्दा पनि एमआरआई मेसिन सञ्चालन गरिएको छैन ।

अस्पतालका मेसु साहले लिक भएको हिलियम गयाँस रिफल गर्न (फेरि भर्न) आपूर्तिकर्ता कम्पनीले विलम्ब गरिरहेको बताए । उनले भने, ‘आपूर्तिकर्ता कम्पनीलाई दुई हप्ताको समय दिएका छौँ, त्योभित्र उसले ग्याँस रिफिल गरिसक्छ ।’

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २१:०२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय