समसामयिक :

सिएमसीविरुद्ध नेपाल सरकारको पक्षमा बलियो प्रमाण जुटाउन मन्त्री यादवको निर्देशन

शुक्रबार, भदौ १४, २०८१

काठमाडौँ। खानेपानी मन्त्री प्रदीप यादवले सिङ्गापुरस्थित अन्तर्राष्ट्रिय अदालतमा मेलम्ची खानेपानी आयोजनाविरुद्ध इटालियन निर्माण कम्पनी ‘सिएमसी’ले दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा बलियो प्रमाण जुटाउन निर्देशन दिनुभएको छ ।

National medical suchna

शुक्रवार मन्त्रालयमा अन्तर्राष्ट्रिय कानुनी परामर्शदाता हार्वड केनेडी लफर्म लण्डनका प्रतिनिधिहरू भिक्टोरीया टइसन, जेम्स रिडर तथा मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूसँग आयोजित भेटघाटका क्रममा मन्त्री यादवले उक्त निर्देशन दिनुभएको हो ।

मन्त्री यादवले मेलम्ची र सिएमसीबीच चलिरहेको मुद्दामा नेपाल सरकारको पक्षमा निर्णय आउने गरी आवश्यक तयारी गर्न र प्रबल प्रमाण प्रस्तुत गर्न जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “सिएमसीले मेलम्चीका स्थानीय आपूर्तिकर्ताहरूलाई भुक्तानी नगरी एकतर्फी रूपमा ठेक्का तोड्यो र उल्टै मुद्दा दायर गर्‍यो । अब हामीले उसका गलत क्रियाकलापको बलियो प्रमाण जुटाउनु पर्छ र मुद्दा जित्न सक्षम हुनुपर्छ ।”

छलफलको क्रममा मन्त्री यादवले मेलम्ची खानेपानीका लागि कार्यरत आपूर्तिकर्ता र कामदारहरूको बाँकी तलब, भत्तालगायतको भुक्तानी कसरी तिर्न सकिन्छ भन्ने विषयमा कानुनी परामर्शदाताहरूसँग पनि जानकारी लिनुभएको थियो ।

हार्वड केनेडी लफर्मको कानुनी टोली ६ दिनको नेपाल भ्रमणमा छ र यस अवधिमा उनीहरूले खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, तथा कानुन मन्त्रालयका अधिकारीहरू सँग भेटघाट गरी सिएमसीविरुद्धको प्रमाण जुटाउने कामलाई अघि बढाउनेछन् ।

मन्त्री यादवका निजी सचिव भक्तराज जोसीका अनुसार भेटघाटमा मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, मेलम्ची विकास बोर्डका कार्यकारी निर्देशक रत्न लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय