समसामयिक :

जनतालाई शुद्ध खानेपानी दिन कुनै कसर बाँकी नराख्न मन्त्री यादवको निर्देशन

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ। खानेपानी मन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्न आफ्नो प्रमुख उद्देश्य भएको बताउँदै यस लक्ष्यलाई हासिल गर्न मन्त्रालयका कर्मचारीहरूलाई निरन्तर मेहनत गर्न निर्देशन दिनुभएको छ ।

National medical suchna

मन्त्रालयमा आयोजित विकास समस्या समाधान समितिको बैठक र आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्ने कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “शुद्ध खानेपानी जनताको अधिकार हो, र यसलाई सुनिश्चित गर्न हामी कुनै कसर बाँकी राख्ने छैनौँ ।”

मन्त्री यादवले चुरे दोहन र जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू सुक्दै गएको र यसले गर्दा मुलुकभर खानेपानीको आपूर्ति व्यवस्थामा चुनौती उत्पन्न भएको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “मधेसमा चुरेको दोहनका कारण पानीका स्रोतहरू सुक्दै गएका छन्, जसले गर्दा चापाकलहरूमा पानी आउन छाडेको छ ।

यो समस्याको समाधानका लागि देशभरि नै जलस्रोतको अध्ययन गरी आवश्यक कदम चाल्न जरुरी छ ।”

बजेट अभावले जनतालाई आवश्यक पर्ने खानेपानी आयोजनाहरूको निर्माणमा अवरोध सिर्जना भइरहेको बताउँदै मन्त्री यादवले अर्थ मन्त्रालयको असहयोगप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “अर्थ मन्त्रालयले पठाइएका फाइलहरू खोल्न आलटाल गर्छ । फाइल नखोल्दा खानेपानीका महत्त्वपूर्ण परियोजनाहरू अघि बढ्न सकेका छैनन्, यस विषयमा म प्रधानमन्त्रीज्यूसँग सीधा कुरा राख्नेछु ।”

मन्त्री यादवले आगामी दिनमा जलवायु परिवर्तन र बजेट अभावले थप चुनौतीहरू उत्पन्न गर्न सक्ने भन्दै सबै क्षेत्रबाट सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डन, मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य लगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय