समसामयिक :

नारायणी रङ्गशालाको जीर्णोद्धारका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न मन्त्री यादवको आग्रह

मंगलबार, साउन २९, २०८१

काठमाडौँ, साउन २९ । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आज युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीसँग भेट गर्दै गृह नगर वीरगञ्जस्थित नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ ।

National medical suchna

मङ्गलवार पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा रहेको टोलीसहित युवा तथा खेलकुद मन्त्रालय पुग्नुभएका मन्त्री यादवले वीरगञ्जको गौरवशाली इतिहास र पहिचानसँग जोडिएको नारायणी रङ्गशालाको महत्त्वलाई औँल्याउँदै यसको शीघ्र जीर्णोद्धार र पुनर्निर्माणको आवश्यकता रहेको बताउनुभयो ।

छलफलका क्रममा मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि रङ्गशालाका लागि बजेट व्यवस्थापनको विषयमा छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले रङ्गशालाको पुनर्निर्माणले स्थानीय खेलकुद गतिविधिको प्रवर्द्धन गर्नुका साथै क्षेत्रीय खेलकुद पर्यटनको विकासमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री यादवले नारायणी रङ्गशालाको जीर्णोद्धारका लागि जग्गा विवाद समाधान गर्न आवश्यक मुआब्जा वितरण प्रक्रिया अघि बढाउन पनि आग्रह गर्नुभएको थियो । यसका लागि उहाँले अर्थ मन्त्रालयसँग समन्वय गर्ने प्रस्ताव राख्नुभयो ।

जवाफमा युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले वीरगञ्जको इतिहाससँग जोडिएको नारायणी रङ्गशालाको पुनर्निर्माणका लागि आफूले हरेक सम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै, जग्गा विवाद समाधान गर्न मुआब्जा वितरण प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयसँग समन्वय गर्ने जानकारी पनि दिनुभयो ।

पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले मन्त्री यादवको प्रयासले रङ्गशालाको पुनर्निर्माणमा सकारात्मक प्रतिफल दिनेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय