राजनीति :

जनतामा सृजित निराशालाई आशामा परिणत गर्ने ढङ्गले काम गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन

बुधबार, साउन ९, २०८१

काठमाडौँ। खानेपानी मन्त्री प्रदीप यादवले जनतामा सृजित निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

National medical suchna

मन्त्री यादवले आज काठमाडौँस्थित नेपाल खानेपानी संस्थान पुगेर संस्थानको खानेपानी वितरण प्रणालीलाई सुदृढ गर्दै जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “जनतामा निराशा छाएको छ, जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्नुस्, के सहयोग चाहिन्छ, मन्त्रालय गर्न तयार छ ।”

उहाँले विश्वमा नेपाल जलश्रोतको धनी देश भए पनि यहाँका नागरिकले शुद्ध खानेपानी खानका लागि सङ्घर्ष समिति गठन गर्नु पर्ने बाध्यता रहेको बताउँदै जनतामा नेतृत्व प्रति चरम निराशा छाएको उल्लेख गर्नुभयो ।

मन्त्री यादवले भन्नुभयो, “जलश्रोतको धनी देश, पर्याप्त वन जङ्गल, तराई, पहाड र हिमाल भएको देशमा पानीका लागि सङ्घर्ष समिति गठन गर्नु पर्ने अवस्था छ ।

आन्दोलन गर्नु पर्ने ? यो कहाँ सम्मको पीडा होला, जनतालाई निराशामा नराखौँ, सबै मिलेर निराशालाई आशामा परिणत गरौँ ।”

सो क्रममा मन्त्री यादवले नेपाल खानेपानी संस्थानका गतिविधि, देशभर सञ्चालनमा रहेका कार्यालयहरूको वर्तमान अवस्था, सञ्चालनमा रहेका परियोजना तथा कार्यक्रम, र कार्यान्वयनका क्रममा आएका चुनौतीहरूको जानकारी लिनुभयो ।

उहाँले चुनौतीहरूलाई समाधान गर्न मन्त्रालयबाट हुने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री यादवले आजै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको मुख्य कार्यालयको भ्रमण पनि गर्नुभयो । भ्रमणका क्रममा उहाँले कम्पनीको इतिहास, गतिविधि, सञ्चालनमा रहेका परियोजनाहरू, तिनीहरूको कार्यान्वयनको अवस्था, प्रगति विवरण, आगामी कार्य योजना तथा चुनौतीहरूको बारेमा विस्तृत जानकारी लिनुभयो । उहाँले काठमाडौँवासीलाई उत्कृष्ट खानेपानी सेवा प्रदान गर्न गुणस्तर सुधार गर्न, सम्पूर्ण कार्यहरू पारदर्शी र जबाफदेही रूपमा सम्पन्न गर्न, र सम्बन्धित सबै निकायहरूसँग समन्वय गरी कार्य अघि बढाउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँवासीलाई शुद्ध, स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउन म प्रतिबद्ध छु । तपाईँहरू पनि मेरो साथमा हिँड्नुस्, हामी अवश्य सफल हुने छौँ ।”

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय