समसामयिक :

खानेपानी मन्त्री यादव र एडिबीका कन्ट्री डाइरेक्टर अर्नाउडबीच भेटवार्ता

बिहीबार, साउन ३, २०८१

काठमाडौँ। खानेपानी मन्त्री प्रदीप यादव र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । 

National medical suchna

भेटवार्ताको क्रममा एडिबीका कन्ट्री डाइरेक्टर अर्नाउडले नेपालमा एडिबीले खानेपानीको क्षेत्रमा गर्दै आएका कामकारबाहीको जानकारी दिनुभयो ।

सोही अवसरमा एडिबीको सहयोग र सहकार्यमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम र परियोजनाहरूको बारेमा छलफल भयो ।

कन्ट्री डाइरेक्टर अर्नाउडले मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगतिको विशेष जानकारी मन्त्री यादवलाई दिनुभयो ।

मेलम्ची खानेपानी विकास समिति र एडिबीले लामो समयदेखि सहकार्य गर्दै आएको जानकारी गराउँदै अर्नाउडले मेलम्चीमा २०२१ मा आएको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलाई पुनः निर्माणका लागि स्थान परिवर्तन गरी पानी वितरण सहज बनाउन सहयोग गर्ने बताउनुभयो ।

भेटवार्ताका क्रममा नेपालका खानेपानी परियोजनाहरूको दीर्घकालीन प्रभाव, सफल कार्यान्वयन, र भविष्यमा एडिबीको थप सहयोगको सम्भावनाबारे पनि विस्तृत छलफल भयो ।

मन्त्री यादवले नेपाल सरकार र एडिबीबिचको थप सहकार्यले खानेपानीको पहुँच सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री यादवले मन्त्रालयले एडिबीलाई आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउँदै मन्त्रालय र एडिबीबाट भइरहेका काम कारबाहीको नियमित रिपोर्ट पेस गर्नु पर्ने आवश्यक रहेको बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलमा २०२१ मा आएको बाढीले बगाएको हेडवर्क्सलाई पुनः निर्माण गर्न जुनसुकै निकायमा जान तयार रहेको पनि उहाँले बताउनुभयो ।

मन्त्री यादवले याङ्ग्री र लार्केको पानी काठमाडौँमा ल्याउनका लागि सञ्चालन भएको परियोजनालाई आफ्नो कार्यकालमा सफल पार्ने प्रयास गर्ने बताउनुभयो ।

साथै, मेलम्ची खानेपानी आयोजनाको अर्थ मन्त्रालयमा रोकिएको फायललाई प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्रीसँग सल्लाह गरी अगाडि बढाउने बताउनुभयो ।

मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको पानी १२ महिना काठमाडौँमा ल्याउन युद्ध स्तरमा काम गर्न निर्देशन पनि दिनुभयो ।

एडिबीले नेपालमा खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरूको प्रशंसा गर्दै मन्त्री यादवले धन्यवाद व्यक्त गर्नुभयो । 

कन्ट्री डाइरेक्टर अर्नाउड सहित एडिबीको प्रतिनिधि टोली आज मन्त्रालयमा शिष्टाचार भेटघाटका लागि आइपुगेको थियो ।

एडिबीले खानेपानी मन्त्रालय सहित अन्य विभिन्न मन्त्रालयसँग सहकार्यमा विगत २० वर्षदेखि नेपालमा विभिन्न विकासका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय