समसामयिक :

स्वास्थ्य क्षेत्रको बेतिथी सुधार्न निरन्तर अनुगमनमा स्वास्थ्य मन्त्री यादव

आइतबार, असार १६, २०८१

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार बिहानै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भ्रमण गर्दै महाशाखाका विभिन्न शाखाहरूको प्रगति, चुनौती र आगामी योजनाहरूको बारेमा जानकारी लिनुभएको छ ।

National medical suchna

मन्त्री यादवले महाशाखाअन्तर्गतका नसर्ने रोग, कीटजन्य रोग, कुष्ठरोग तथा जुनोटिक रोग, र रोग निगरानी शाखाका प्रमुख कार्यहरू र तिनको हालसम्मको प्रगतिका साथै कामका दौरानमा आउने चुनौतीहरूको बारेमा जानकारी लिनुभयो ।

महाशाखा निर्देशक डा. यदुचन्द्र घिमिरेले जनशक्तिको अभाव, भवन कोठाको कमी, सीमा नाकास्थित हेल्थ डेस्कका कर्मचारी व्यवस्थापन र पारिश्रमिक भुक्तानीका लागि रकम अभाव जस्ता समस्या मन्त्रीलाई जानकारी गराउनुभयो ।

डा. घिमिरेले समस्या समाधानका लागि राष्ट्रिय प्राथमिकताका कार्यक्रमहरूमा थप लगानी गर्नुपर्ने, कार्यक्रमको एकरूपता र दोहोरोपना न्यूनीकरणका लागि समन्वय र सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।

यसबारेमा मन्त्री यादवले महाशाखाको काम सन्तोषजनक रहेको बताउँदै महाशाखा र मातहतका शाखाहरूलाई सशक्त बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गर्नुभयो ।

मन्त्री यादवले महाशाखाको जनशक्ति र बजेट अभावको समस्या समाधान गर्न हर सम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

साथै, उहाँले डेंगी नियन्त्रण र रोकथाम, हत्तिपाइले रोग निवारण, औलो निवारण, कालाजार निवारण लगायतका रोगहरू विरुद्ध जारी कार्यक्रमहरूलाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने अभियानलाई तीव्र पार्ने निर्देशन दिनुभयो । 

उहाँले छलफलका क्रममा नेपालमा रेबिजविरुद्धको खोप उत्पादनको सम्भाव्यता अध्ययनकालाई अगाडि बढाउने र रोग नियन्त्रण, रोकथाम तथा अन्य गतिविधिहरूको प्रचार प्रसारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

मन्त्री यादवले महाशाखाका कर्मचारीहरूको हौसला बढाउँदै समस्या समाधानका लागि मन्त्रालयले सबै तहबाट सहयोग गर्ने आश्वासन दिनुभयो ।

“महाशाखाका चुनौतीहरूको समाधान गर्दै, जनस्वास्थ्यको सुधारमा महत्त्वपूर्ण कदम चाल्न हामी सबै प्रतिबद्ध छौँ,” मन्त्री यादवले भन्नुभयो, “हामीले बजेट र जनशक्ति व्यवस्थापन गर्दै स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछौँ ।”

छलफलमा मन्त्रालयका सचिव हरि प्रसाद मैनाली र स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. सङ्गीता मिश्रलगायत विभाग र विभिन्न महाशाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय