स्वास्थ्य क्षेत्र :

स्वास्थ्य मन्त्री यादवद्वारा राष्ट्रिय ट्रमा सेन्टरको अनुगमन

शुक्रबार, जेठ २५, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आज पुनः काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरको अनुगमन गर्नुभएको छ ।

यसअघि जेठ ९ गते उहाँले अस्पतालको अनुगमन गर्दै विभिन्न समस्याहरू औँल्याउनुका साथै सुधारका लागि निर्देशन दिनुभएको थियो ।

आजको अनुगमनका क्रममा मन्त्री यादवले अस्पतालमा उल्लेख्य सुधार भएको पाएको बताउनुभयो । ओपिडी व्यवस्थापनमा सुधार आएको, भिडभाड कम भएको, र रगत सङ्कलन गर्ने ठाउँलाई विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।

यद्यपि आइसियुमा बेड पाउन गाह्रो रहेको समस्या भने कायम रहेको बताउँदै, आइसियुको सङ्ख्या थप्न सुझाव दिनुभयो र यसलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले राष्ट्रिय ट्रमा सेन्टरलाई देशकै एक महत्त्वपूर्ण अस्पतालको रूपमा वर्णन गर्दै यसको शाखाहरू देशका अन्य स्थानमा पनि स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “देशभरका बिरामीहरूको चाप एक्लै ट्रमा सेन्टरले थेग्न सक्दैन, तपाईँहरूलाई धेरै भार परिरहेको छ। देशका अन्य स्थानमा पनि ट्रमा सेन्टरका शाखाहरू खोल्न जरुरी छ । यसका लागि म पहल गर्नेछु ।”

मन्त्री यादवले ट्रमा सेन्टरमा भएको सुधारबाट आफू धेरै खुसी भएको बताउँदै अन्य अस्पतालहरूले पनि यसलाई अनुकरण गर्दै सुधार गर्दा अधिकांश समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

जनशक्ति अभावका कारण अस्पतालमा सेवा प्रवाहमा चुनौतीहरू रहेको बताउँदै मन्त्री यादवले देशभरका अस्पतालमा जनशक्ति थप्ने कार्यमा लागिरहेको जानकारी दिनुभयो ।

उहाँले नर्सिङ स्टाफको अभाव समाधान गर्न नर्सिङ स्टाफ थप्ने प्रक्रिया सुरु भएको जानकारी गराउनुभयो । साथै, चिकित्सक र कर्मचारीहरू लाई निर्धक्क भएर काम गर्न आग्रह गर्दै बजेट व्यवस्थापनको जिम्मा आफूले लिने आश्वासन दिनुभयो ।

“तपाईँहरू निर्धक्क भएर काम गर्नुहोस्, बजेट व्यवस्थापनको जिम्मा मेरो हो । कहाँबाट मागेर ल्याउनु पर्छ म गर्छु तर तपाईँहरूलाई अप्ठ्यारो हुन् दिन्न,” उहाँले भन्नुभयो ।

मन्त्री यादवले देशभरका अस्पतालहरूमा प्रयोगविहीन रहेका मेसिनहरूलाई आवश्यक स्थानमा पठाउने र त्यहाँ प्रयोगमा ल्याउने पहल सुरु गरेको जानकारी दिनुभयो । “छिट्टै तपाईँहरूले यसको अनुभूति गर्नुहुनेछ,” उहाँले बताउनुभयो ।

त्यस्तै, वीर अस्पतालको आकस्मिक शाखामा देखिएको समस्यालाई समाधान गर्न माननीय मन्त्रीज्यूले नयाँ भवनमा आकस्मिक शाखा विस्तार गर्न निर्देशन दिएको जानकारी पनि गराउनुभयो ।

ट्रमा सेन्टरको अनुगमन पूर्व, मन्त्री यादव त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा पनि अनुगमनका लागि पुग्नुभएको थियो ।

उहाँले अस्पतालले दिइरहेको सेवाबाट आफू प्रभावित भएको बताउँदै, आँखा अस्पतालले पेपरलेस प्रणालीको थालनी र जाँचका लागि विशिष्ट किसिमको आधुनिक उपकरणको प्रयोग गरेकोमा प्रशंसा गर्नुभयो ।

मन्त्री यादवले अन्य अस्पतालहरूमा पनि यसलाई लागू गर्न पहल गर्ने बताउनुभयो ।

आँखा अस्पतालको अनुगमनका क्रममा, त्यहाँका प्रमुखले पुरानो भवनबाट उपचार गर्न कठिनाइ भइरहेको दुखेसो पोख्नुभयो ।

अस्पतालका निर्देशकले भवन गुठी संस्थानको जग्गामा निर्मित रहेको र यसलाई विस्तार गर्न गुठीबाट अनुमति आवश्यक रहेकोले सोका लागि पहल गर्न मन्त्री यादवसँग आग्रह गर्नुभयो ।

आँखा जाँच र उपचारलाई स्वास्थ्य बिमा कार्यक्रममा राख्न पनि आग्रह गर्नुभयो । मन्त्री यादवले यी आग्रहहरूमा आफू सकारात्मक रहेको बताउँदै छिट्टै समस्या समाधानका लागि काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि मन्त्री यादवले काठमाडौँस्थित वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पनि अनुगमन गर्नुभएको थियो ।

स्वास्थ्य क्षेत्रमा विद्यमान समस्याहरूलाई सुधार गर्न प्रतिबद्ध उहाँले बिरामीहरूको उपचारमा कुनै किसिमको लापरबाही नगर्न निर्देशन दिनुभएको छ ।

उहाँले देशभरका गरिब जनता उपचारको आसमा पुग्ने केन्द्रीय अस्पतालहरूको सेवा सुधार्न आफू लागिपरेको बताउनुभयो ।

अनुगमनमा मन्त्री यादवका निजी सचिव भक्तराज जोशी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय