समसामयिक :

देशभरीको अस्पतालहरूको समस्या बारे बुझन् स्वास्थ्य मन्त्री यादवले गरे विशेष समिति गठन

शुक्रबार, जेठ १८, २०८१

काठमाडौँ । देशभरका अस्पतालहरूमा बिरामीहरूले शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नु परेको गुनासो बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले यसको समाधानका लागि एउटा विशेष समिति गठन गर्नुभएको छ । 

स्विजरल्याण्डमा आयोजित ७७ औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भएर नेपाल फर्केकै दिन मन्त्री यादवले मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्र रमण सिंहको संयोजकत्वमा समस्याहरूको अध्ययन गर्दै समाधान र सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न तीन सदस्यीय समिति गठन गर्नुभएको हो ।

महाशाखा प्रमुख डा. मदन कुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्य सचिव रहनुभएको समितिलाई दुई साताभित्र विस्तृत विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न मन्त्री यादवले निर्देशन समेत दिनुभएको छ ।

मन्त्री यादवका अनुसार सङ्घीय अस्पतालहरूमा शल्यक्रियाका लागि महिनौँ कुर्नुपर्ने, पालो नपाएको, र उपचारमा ढिलाइ भएको गुनासाहरू बढ्दै गएपछि गहन अध्ययन गरेर समाधानका उपायहरू पहिल्याउनुपर्ने आवश्यकता देखिएपछि समिति गठन गरिएको छ ।

‘धेरै समयदेखि दुर्गम र टाढाबाट आउनु भएका बिरामीलाई शल्यक्रियाका लागि पालो नपाएको, उपचारमा ढिलाइ भएको र अस्पतालहरूले अन्य धेरै लापरबाही गरेको गुनासो आइरहेको थियो,’ मन्त्री यादवले भन्नुभयो, ‘उहाँहरूलाई छिटोछरितो तरिकाले सेवा कसरी प्रदान गर्ने र अन्य सेवाहरू चुस्त दुरुस्त बनाउन तत्काल पहल गर्न आवश्यक कार्यहरूको समितिले अध्ययन गर्ने छ ।’

समितिले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालहरूको अनुगमन गर्नेछ ।

अनुगमनका क्रममा बिरामीहरूले शल्यक्रियाका लागि के-के कारणले लामो समयसम्म पालो कुर्नु परेको छ, प्रेषणको अवस्था, सेवाको गुणस्तर र प्रक्रिया, विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या र उहाँहरूले दिने सेवाको विवरणजस्ता विषयवस्तुहरूको अध्ययन गरिने छ ।

त्यस्तै, समितिले अस्पतालहरूबाट प्रदान गरिने बहिरङ्ग (ओपिडी) सेवाहरूको विस्तृत अध्ययन गर्नेछ ।

ओपिडी सेवा हेर्ने चिकित्सकहरूको सङ्ख्या, उहाँहरूले दैनिक रूपमा हेर्ने बिरामीहरूको सङ्ख्या, प्रेषणको अवस्था, प्रयोगशाला र रेडियोलोजी सेवाहरूको विस्तृत विवरण तथा सोही सेवाहरूका लागि अन्यत्र रेफर गरिएका बिरामीहरूको विवरण पनि सङ्कलन गर्ने छ ।

मन्त्री यादवले समितिलाई समस्याहरूको प्रभावकारी व्यवस्थापनका लागि अल्पकालीन (तीन महिना भित्र गर्न सकिने), मध्यकालीन (एक वर्ष भित्र गर्न सकिने), र दीर्घकालीन (पाँच वर्ष भित्र गर्नुपर्ने) कार्य योजना तयार पारी पेस गर्न निर्देशन पनि दिनुभएको छ ।

स्वास्थ्य सेवा पहुँचमा समानता, समयबद्धता, र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले गठन गरिएको समितिले स्वास्थ्य सेवामा सुधारका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने र आवश्यक सुधारका लागि ठोस कार्य योजनाहरू प्रस्तुत गर्ने मन्त्री यादवले बताउनुभयो ।

साथै समितिको प्रतिवेदनले देशभरका अस्पतालहरूमा शल्यक्रिया लगायतका स्वास्थ्य सेवाहरूमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय