समसामयिक :

स्वास्थ्य मन्त्री प्रदीप यादवद्वारा कान्ति बाल अस्पतालमा छड्के अनुगमन

आइतबार, जेठ १३, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार काठमाडौँस्थित कान्ति बाल अस्पतालमा छड्के अनुगमन गर्नुभएको छ ।

मन्त्रालयका सचिवसहितको टोली लिएर अस्पताल पुग्नु भएका मन्त्री यादवले आकस्मिक, फार्मेसी, बहिरङ्ग सेवा कक्ष (ओपिडी), शल्यक्रिया कक्ष, आइसियु, एनआइसीयु, क्यान्टिन लगायतका कक्ष र शाखाहरूको अनुगमन गर्नुभयो ।

अनुगमनका क्रममा मन्त्री यादवले उपचारका लागि आफ्नो बालबालिका लिएर आउनुभएका अभिभावक लगायतका सेवाग्राहीसँग पनि कुराकानी गर्नुभयो ।

सेवाग्राहीहरूले अस्पतालको फोहर व्यवस्थापनमा समस्या रहेको, शौचालय धेरै दुर्गन्धित रहेको, आकस्मिक कक्षको एउटै शय्यामा तिन जनासम्मको उपचार भइरहेको, औषधी लिन फार्मेसीमा लामो समय कुर्नुपरेको, रगत सङ्कलन लगायतमा ढिलाइ हुने गरेको, ह्विलचियरको व्यवस्था नरहेको र कर्मचारीहरूले राम्रो व्यवहार नगर्ने गरेको गुनासो गर्नुभयो ।

त्यस्तै अनुगमनका क्रममा मन्त्री यादवले अस्पतालस्थित एमआरआई मेसिन आंशिक रूपमा सञ्चालनमा रहेको र तथ्याङ्क पुस्तिका च्यातिएको भेटाउनुभयो भने फार्मेसीमा औषधी दिँदा खुल्ला रूपमा दिइरहेको भेटिएको थियो ।

मन्त्री यादवले फार्मेसीबाट स्वास्थ्य बिमा मार्फत उपलब्ध हुने औषधीको विषयमा जानकारी लिनुका साथै अस्पतालस्थित क्यान्टिनको अनुगमन गर्दै खानाको गुणस्तर बारे पनि जानकारी लिनुभयो ।

मन्त्री यादवले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूसँग पनि कुराकानी गर्नुभयो । सो क्रममा उहाँहरूले जनशक्ति अभावका करण उपचारमा कठिनाइ हुने गरेको र तलब, भत्तालगायतका सुविधा अत्यन्तै कम रहेको बताउनुभयो ।

अस्पतालका प्रमुख डा. पङ्कज रायले पनि जनशक्ति र बजेट अभावका कारण अपेक्षित ढङ्गले काम नगर्न नसकिएको दुखेसो पोख्नुभयो । 

अनुगमन पश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री यादवले अस्पतालमा निकै कमजोरी भेटिएको र तत्काल सुधारको काम अगाडि बढाउने आफूले अस्पताल प्रमुख र सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अस्पतालमा हामीले ठूलो समस्याहरू भेटाएका छौँ । यद्यपि ती समस्याहरू यहीँबाट समाधान हुने किसिमका छन् । सानोतिनो विषयमा पनि सेवाग्राहीहरू असन्तुष्ट हुनुहुन्छ ।

शौचालय फोहर छ, फार्मेसीबाट खुल्ला रूपमा औषधी वितरण हुँदै छ । जसको व्यवस्थापन अस्पतालले गर्न सक्छ तर गरेको देखिएन ।’

यादवले अस्पतालमा नयाँ एमआरआई मेसिन हुँदाहुँदै सञ्चालनमा नरहेको बताउनुभयो । उनले एमआरआई मेसिनलाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन पनि दिनुभयो ।

उहाँले अनुगमनको एउटा विस्तृत प्रतिवेदन तयार पारेर अस्पतालमा देखिएका कमजोरीहरूलाई सुधार गर्ने र आवश्यक जनशक्ति र पूर्वाधार विकासका लागि बजेट व्यवस्थापन मन्त्रालयले गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले अगामी दिनहरूमा पनि अनुगमनलाई निरन्तर जारी राख्ने बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय