सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज। पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ ।
खासगरी वीरगञ्ज, चितवन र भैरहवा लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको छ । बढ्दो गर्मीले जनजीवन प्रभावित समेत भएको छ ।
गत चौबिस घण्टामा पर्साको वीरगञ्जमा सबैभन्दा धेरै गर्मी महसुस भएको छ । वीरगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो दिन वीरगञ्जको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस थियो ।
मौसमविद गंगा नगरकोटीले देशभर नै तापक्रम बढ्दै गएको र तत्काल कम हुने सम्भावना नरहेको बताइन् । उनका अनुसार तत्काल देशभर ठूलो पानी पर्ने सम्भावना पनि छैन । तर थोरै स्थानहरुमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी भने पर्ने गरेको छ ।
‘पश्चिमी वायुले बादल त ल्याएको छ तर त्यसमा पानीको मात्रा खासै छैन,’ मौसमविद गंगा नगरकोटीले भनिन्, ‘स्थानीय वायुको प्रभावले थोरै स्थानमामात्र मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने गरेको छ । तत्काल ठूलो पानी पर्ने सम्भावना देखिँदैन ।’
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको प्रक्षेपण गरेको छ ।
मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध समेत गरेको छ ।