धर्म-कर्म :

चैती छठ : उदाउदो सुर्यलाई अर्घ्य दिएसंगै यसवर्षको छठ पर्व सम्पन्न

सोमबार, वैशाख ३, २०८१

वीरगञ्ज । तराई मधेशमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्वको आज अन्तिम दिन उदाउदो सुर्यलाई अर्घ्य दिएसंगै यसवर्षको छठ पर्व सम्पन्न भएको छ।

चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन व्रतालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका थिए।

पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनीतो खाने चलन छ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ।

मधेसमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ। यद्यपि कात्तिकको छठ जति चैती छठ पर्व मनाउने भने देखिँदैनन्।

छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिर मात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयको घाटमा गएर पानीमा उभिएर अर्घ्य दिइन्छ, जसलाई ‘सँझिया घाटको अर्घ’ भनिन्छ।

अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई घाटमै अर्घ्य दिएर पर्व सम्पन्न गरिन्छ।

यो विधिलाई ‘भोर घाटको अर्घ ’ र ‘पारण’ पनि भनिन्छ।छठ पर्वमा ठेकुवा, केरा, उखु, सुन्तला,निमुवा, बोडी, सुथनी, मुला लगायतका फलफूल र हरियो तरकारी व्रतालुले अर्घ्यका बेला सूर्यतर्फ देखाउने गर्छन् ।

छठ सूर्य र सूर्य पत्नी षष्टिको उपासनाको पर्व हो। यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय