भन्सार छली :

बारा प्रहरीद्वारा १४ सय किलो चिनी र अवैध औषधी बरामद

शुक्रबार, चैत ३०, २०८०

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले १४ सय किलो चिनी बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको टोलीले बिलविजक भन्दा बढीको चिनी बरामद गरेको हो ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बकुलिया चोकमा चेकजाँच गर्दा जितपुरबाट बकुलियातर्फ जाँदै गरेको २ वटा मोटरसाइकलबाट ४ सय किलो चिनी बरामद भएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उक्त चिनीको ३२ हजार रुपैयाँ मूल्यांकन गरिएको छ । 

त्यस्तै प्रहरी चौकी मुसहर्वाको टोलीले बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ बड्की मुसहर्वाबाट १ हजार किलो चिनी बरामद गरेको उनले बताए । डिएसपी न्यौपानेकाअनुसार ५० किलोको २० वटा बोरामा १ लाख मूल्य बराबरको चिनी बरामद गरिएको हो ।

बड्की मुसहर्वा निवासी ३० वर्षीय उज्वल प्रसाद यादवको खपराको घरमा अवैध रुपमा भण्डारण गरेर राखिएको अवस्थामा चिनी बरामद भएको न्यौपानेले जानकारी दिए । यस्तै जिल्ला प्रहरी कार्यालय बाराले ५५ हजार रुपैयाँ बराबरको औषधी नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय कवहीबाट खटिएको टोलीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३ दशगजा क्षेत्रबाट औषधी बरामद गरेको हो । भारतबाट नेपालतर्फ टाउकोमा बोकी ल्याउँदै गरेको बोरा प्रहरीलाई देख्ने बित्तिकै फालेर मानिस फरार भएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

अवैध भारतीय औषधी नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको न्यौपानेले बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय