अन्तरक्रिया :

मधेसका प्रत्येक नागरिकसम्म बिमाको पहुँच पुर्‍याउन आवश्यक : निर्देशक लाल

शुक्रबार, चैत ३०, २०८०

वीरगञ्ज । नेपाल बिमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बिमाबारे सर्वसाधारणहरूमा जनचेतनाको कमी रहेको बताएका छन् ।

National medical suchna

बिमा प्राधिकरणले वीरगञ्जमा आयोजना गरेको बारा, पर्सा तथा रौतहटका सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया बोल्दै निर्देशक लाले मधेस प्रदेशमा बिमा बारे जनचेतना फैलाउन जरुरी रहेको बताए ।

उनले मधेस प्रदेशका सम्पूर्ण नागरिकसम्म बिमाको पहुँच पुर्‍याउन जनचेतनाको लागि प्रचार प्रसार आवश्यक रहेको बताए । मुलुकको सात प्रदेशमध्ये सबैभन्दा बढी मधेस प्रदेशका नागरिकहरू बिमाको पहुँचभन्दा बाहिर रहेकोले यो अवस्थालाई न्यूनीकरण गर्न एवं जनचेतना फैलाउन सञ्चारकर्मीहरूको महत्त्वपूर्ण भूमिका रहेकोले प्रचार प्रसार गरेर सहयोग गर्न उनले आग्रह गरे ।

कार्यक्रममा सहभागी सञ्चार कर्मीहरूले मधेस प्रदेशमा भारतीय बिमा कम्पनी हाबी रहेकोले सर्वसाधारणहरू नेपाली बिमा कम्पनीको पहुँच भन्दा बाहिर रहेको बताए । सञ्चारकर्मीहरूले मधेस प्रदेशका जिल्लाहरूमा विदेशी बिमा कम्पनी हाबी रहेकै कारण नेपाली बिमा कम्पनी यहाँको नागरिकको पहुँचभन्दा टाढा रहेको बताए ।

बिमा प्राधिकरणको तथ्याङ्क अनुसार मधेस प्रदेशमा जनसङ्ख्या बढी रहे पनि ९० प्रतिशतभन्दा बढी नागरिकहरू बिमाको पहुँच भन्दा बाहिर छन् । मुलुक भरिमा ४४ प्रतिशत नागरिक बिमाको पहुँचसम्म रहे तापनि मधेस प्रदेशमा ९ प्रतिशत नागरिक मात्रै बिमाको पहुँचमा रहेको तथ्याङ्कले देखाएको छ । यथार्थमा तथ्याङ्कले यही देखाए पनि मधेस प्रदेशका ५० प्रतिशत भन्दा बढी नागरिकहरू भारतीय बिमा कम्पनीको पहुँचमा रहेको सञ्चारकर्मीको भनाई थियो ।

मधेस प्रदेशमा अधिकांश नागरिकहरू कृषिमा निर्भर रहेको कारण कृषि बिमा वृद्धि गर्नुपर्ने सञ्चारकर्मीहरूले सुझाव दिए । कृषि बिमामा नेपाल सरकारले दिने गरेको अनुदान एवम् त्यसबाट हुने फाइँदा, सहुलियतबारे यहाँका नागरिकहरूलाई जानकारी गराई कृषि बिमातर्फ आकर्षित गर्नुपर्ने उनीहरूले सुझाव दिए ।

जीवन बिमाबारे आम नागरिकसम्म जनचेतना फैलाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेकोले बिमा कम्पनी र सञ्चारकर्मीबिचको समन्वयको आवश्यक रहेकोले बिमाबारे प्रचार प्रसारको निम्ति सञ्चारकर्मीहरूको प्रोत्साहनको लागि पुरस्कारको व्यवस्था गर्नुपर्ने सञ्चारकर्मीहरूको सुझाव थियो ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको सभापतित्वमा भएको  कार्यक्रममा नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालय वीरगञ्जकी उप-निर्देशक कुसुम शर्मा, नेपाल पत्रकार महासङ्घ बाराका अध्यक्ष रेसम तिवारी, पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्का लगायत पर्सा र बाराका सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय