समसामयिक :

कक्षा ८ को परीक्षा एकिकृत परीक्षा प्रणाली मार्फत लिदैं वीरगंज महानगर

मंगलबार, चैत ६, २०८०

वीरगंज । वीरगंज महानगरपालिकाले यस वर्षबाट एकिकृत परीक्षा प्रणालीमार्फत आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा लिने भएको छ ।

National medical suchna

चैत १५ गतेदेखि सुरु हुने कक्षा ८ को महानगरस्तरीय परिक्षाका लागि महानगरको परीक्षा समितिले ११ वटा परीक्षा केन्द्र तोकेको छ ।

जसमा ६ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

सामुदायिक विद्यालयतर्फ त्रिजुद्ध मा.वि., नृसिंह मा.वि., श्रीपुर मा.वि., शारदा मा.वि.बहुअरी, माइस्थान विद्यापिठ मावि र ने.रा.मा.वि सोलकपुरमा परिक्षा केन्द्र निर्धारण गरिएको छ भने संस्थागत विद्यालय तर्फ सनलाईट मावि, मिनिल्याण्ड मावि, कादम्बरी एकेडेमी, जी.एच.पी. मावि र ओम नेशनल स्कूललाई परिक्षा केन्द्र निर्धारण गरिएको कर्णले जानकारी दिए।

यसवर्ष कक्षा ८ को महानगरस्तरीय बार्षिक परिक्षामा ३६ वटा सामुदायिक विद्यालयका ३ हजार १४१ जना र ८२ वटा संस्थागत विद्यालयका २ हजार ५२१ जना गरी कूल ५ हजार ६५७ जना विद्यार्थीले सहभागिता जनाउने कर्णले बताए । 

चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने परीक्षालाई निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गराउन मंगलबार महानगरको परीक्षा समितिले ११ वटै केन्द्रमा केन्द्राध्यक्ष नियुक्त गर्नुका साथै उनीहरुका काम कर्तव्यका बारेमा जानकारी गराएको छ ।

परिक्षा सकिएपछि परिक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरि नीतजा तयार पारि चैत २८ गते सार्वजनिक गरिने कर्णले जानकारी दिए । 

आधारभूत तहबाटै अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर उकास्ने उदेश्यले महानगरमा पहिलो पटक एकिकृत परीक्षा प्रणालीबाट आधारभूत तहको बार्षिक परिक्षा लिन लागेको महानगरका शिक्षा महाशाखा प्रमुख कर्णले बताए ।

उनले भने, विगतमा जुन विद्यालयमा अध्ययन गरेको हो सोही विद्यालयले नै परीक्षा लिएर उत्तरपुस्तिका पनि सम्बन्धित विद्यालयले जाँच गर्ने गर्थ्यो, त्यसमा केहि विद्यालय र शिक्षकहरुबाटै चलखेल हुन्थ्यो ।

ती सबै विकृति अन्त्य गर्न यसपालिदेखि महानगरले एकिकृत माध्यमबाट परीक्षा लिन लागेको हो ।  

कर्णका अनुसार,एकिकृत परीक्षा प्रणाली सुरुभएसँगै अब भने अध्ययन अध्यापन सम्बन्धित विद्यालयले गर्ने र त्यसको मूल्यांकन तेस्रो पक्षबाट हुने छ ।

विद्यार्थीको सिकाई मापन तेस्रो पक्षबाट हुँदा निष्पक्ष र यथार्थपरक हुने भएकाले महानगरले यस वर्षबाट एकिकृत परीक्षा प्रणाली सुरु गरेको महाशाखा प्रमुख कर्णले बताए ।

मंगलबार नवनियुक्त केन्द्राध्यक्षहरुलाई महानगरकान मेयर राजेशमान सिंहले नियुक्तीपत्र प्रदान गर्दै आधारभूत तहको अन्तिम परीक्षा निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्देशन दिए ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  २२:०६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय