छठ पर्व :

छठ पर्वको मुख्य दिन : आज अस्ताउदो सुर्यलाई अर्घ्य दिएर मनाईदै

आइतबार, मंसिर ३, २०८०

वीरगञ्ज । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा रहेको छठ पर्व आज आइतबार सूर्य भगवान् र छठी माताको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइँदै छ ।

National medical suchna

कात्तिक शुक्ल पक्षको चौँठी तिथिदेखि विधिवत् रूपमा सुरु हुने छठ पूजा सप्तमी तिथि सम्म चार दिन मनाइन्छ । शुक्रवारदेखि विधिवत् रूपमा सुरु भएको छठ पूजाको दोस्रो दिन पञ्चमी तिथि अर्थात् शनिवारका दिनदेखि व्रतालुहरू निर्जला व्रत सुरु गरेका छन् ।

छठको दोस्रो दिन पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ अथवा स्थानीय भोजपुरी भाषामा ‘रसिआव रोटी’ ।

खरना परेको शनिवार व्रतालुहरू गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बसेका थिए ।

शनिवार साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुँको रोटी प्रसादका रूपमा पकाएका थिए ।

उक्त प्रसाद अर्थात् रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरूले प्रसाद ग्रहण गरेर शनिवार बेलुकीदेखि निर्जला व्रत सुरु गरेका हुन् ।

खरनाको भोलि पल्ट आज अर्थात् आइतबार परेको षष्ठी तिथिको दिन छठ पर्वको मुख्य दिन हो । यस दिनलाई सँझिया घाटे भनिन्छ ।

व्रतालुहरू आइतबार दिउँसोको समयमा नुहाइ धुवाइ गरी नयाँ चोखो वस्त्र पहिरेर छठ पूजाका लागि नदी, पोखरी, तलाय इत्यादि जलाशयमा तयार पारिएको छठ घाटमा जान्छन् ।

घरपरिवारका सबै सदस्य पनि नुहाइ धुवाइ गरी चोखो भई नयाँ लुगा लगाएर छठ घाटमा पुग्छन् ।

छठ घाटमा चोखो माटोले बनाइएको पूजा स्थल सिरसोता छेउमा बसेर व्रतालुहरूले छठी माता र सूर्य भगवानसँग जोडिएका पारम्परिक गीत गाउँछन् ।

त्यसपछि आइतबार साँझ पख अस्ताउँदै गरेका सूर्य भगवान् र छठी मातालाई व्रतालुहरूले जलाशयमा पसी बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अछेता, पात सहितको मूला लगायतका फलफूल र प्रसाद राखेर अर्घ्य (पूजा) दिन्छन् ।

सूर्य अस्त पछि व्रतालुहरू छठी माताको पारम्परिक गीत गाउँदै आ आफ्नो घर फर्किन्छन् ।

षष्ठीको भोलि पल्ट सप्तमी तिथिका दिन अर्थात् सोमबार बिहान झिसमिसेमै व्रतालुहरू फेरी नुहाइ धुवाइ गरी चोखो भई पूजन सामाग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठ घाटमा पुग्छन् ।

सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरूले श्रीमान्, छोरा, छोरी र परिवारका सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको लागि छठी मातासँग अनुनय विनय गर्छन् ।

सप्तमी तिथिका दिन बिहान सूर्य उदाउनु भन्दा पहिले नै व्रतालुहरू सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद, फलफूल लिएर छठ घाटको जलाशयमा पस्छन् र सूर्य उदाउने क्रममा उनीहरूले सूर्य र छठी मातालाई अर्घ दिन्छन् ।

सूर्यलाई अर्घ्य दिए पछि छठ घाटमै व्रतालु महिलाहरूले एक अर्काको नाकको टुप्पादेखि सिउँदोसम्ममा सिन्दूर लगाइ दिन्छन् । त्यसपछि उनीहरू आ–आफ्नो घर फर्किन्छन् ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ । यस दिनलाई परना भन्ने चलन छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय