राजनीति :

प्रधानमन्त्रीलाई प्रदीप यादवको प्रश्न: नारायणी रंगशाला किन गौरवको आयोजनामा परेन ?

मन्त्रिपरिषद्को निर्णय नसच्याए वीरगञ्जवासीले चरणबद्ध आन्दोलन गर्ने
शुक्रबार, कात्तिक २४, २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) प्रमुख सचेतक प्रदीप यादवले वीरगञ्जको ऐतिहासिक नारायणी रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न माग गरेका छन् । 

National medical suchna

मन्त्रिपरिषद्को बैठकबाट काठमाडौँस्थित मूलपानी क्रिकेट मैदान, मोरङको विराटनगर रङ्गशाला र चितवनको भरतपुर रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय गर्दा नारायणी रङ्गशाला छुटाएकोमा उनले असन्तुष्टिसमेत जनाएका छन् । 

‘मूलपानी क्रिकेट मैदान, भरतपुरको क्रिकेट रङ्गशाला र मोरङको विराटनगर रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्दै देशमा खेलकुद सम्बन्धित गतिविधिहरूलाई थप प्रोत्साहित गरी दिनुभएकोमा म यहाँलाई धन्यवाद दिन चाहन्छु ।

तर वीरगञ्जको ऐतिहासिक नारायणी रङ्गशालासँग विभेद किन? काठमाडौँको दशरथ रङ्गशालासँगै निर्माण भएको नारायणी रङ्गशाला अझै पुनःनिर्माणको लागि सरकारको पर्खाइमा छ ।

नारायणी रङ्गशाला एउटा आधुनिक एवम् व्यवस्थित रङ्गशाला बन्न सक्ने सामर्थ्य राखेको छ । मधेस प्रदेशको पुरानो एवम् व्यवस्थित रङ्गशाला किन सङ्घीय सरकारको नजरमा पर्न सकेन ?’ उनले प्रधानमन्त्रीलाई सोधेका छन् । 

सांसद यादवले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई नारायणी रङ्गशालाबारे ध्यानाकर्षण पत्र लेख्दै नारायणी रङ्गशालाको जीर्णोद्धार गर्न र यसलाई राष्ट्रिय गौरवको आयोजनाहरूमा समावेश गर्न माग गरेका हुन् ।

नारायणी रङ्गशाला गौरवको आयोजनामा नसमेटिए वीरगञ्जवासी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने र भविष्यमा त्यस कारण प्रमुख आर्थिक नगर वीरगञ्जमा सृजना हुनसक्ने परिस्थितिको जिम्मेवारी स्वयम् सङ्घीय सरकार हुने चेतावनी यादवले दिएका छन् । 

सांसद यादवले दशरथ रंगशालासँगै निर्माण भएको नारायणीलाई राज्यले उपेक्षा गरेर वीरगंजलाई विभेद गरेको टिप्पणी पनि गरेका छन् । ‘सरकारको यस व्यवहारबाट वीरगञ्जवासी रुष्ट बनेका छन् ।

असङ्ख्य अवसर र सम्भावनाहरू बोकेको यस रङ्गशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि नबढाउँदा वीरगञ्जवासीले आफूसँग विभेद भएको महसुस गरिरहेका छन् ।

सयौँ वर्षदेखि विभेदमा पर्दै आएका वीरगञ्जवासीले सङ्घीयता स्थापना पश्चात् विभेदको अन्त्य हुने अपेक्षा गरेका थिए, यद्यपि वर्तमान सरकारले पनि त्यसलाई निरन्तरता दिएको उनीहरूले महसुस गरिरहेका छन् ।

उनीहरू देशका अन्य स्थानलाई प्राथमिकतामा राख्दा सरकारले वीरगञ्जसँग गरेको उपेक्षाको कारण खोजिरहेका छन् । सम्पूर्ण वीरगञ्जवासीको प्रश्न छ – “सरकारले नै विभेद गर्दा जनता कहाँ जाने?,’ उनले ध्यानाकर्षण पत्रमा प्रश्न गरेका छन् ।  

यादवकाअनुसार २०४२ सालमा स्थानीयहरूको जनसहयोगबाट निर्माण भएको रङ्गशाला आज पूर्ण रूपले जीर्ण बनिसकेको छ । खेलमैदानमा अग्ला घाँसहरू उम्रिएका छन् र दर्शक बस्ने ठाउँ भत्किसकेको छ ।

हालसम्म यसलाई स्थानीय सरकार र वीरगञ्जवासीले आफ्नो प्रयासले जोगाएर राखेका छन् । समय–समयमा थोरै मर्मत सम्भार गरेर भए पनि यसको अस्तित्वलाई बचाएर राखेका छन् । 

‘मुलुकमा विभिन्न कालखण्डमा फुटबल, क्रिकेट लगायत खेलकुदसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको साक्षी बनेको नारायणी रङ्गशालाले देशलाई कैयौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरेर दिएको सर्वविदितै छ ।

आज पनि नारायणीले देशकै दोस्रो ठूलो रङ्गशालाको दर्जा बोकेको छ । तर पनि वर्षौँदेखि यो सरकारको नजरमा पर्न सकेको छैन ।

जनताको न्यायको मन्दिर सङ्घीय संसदीय मार्फ़त पनि पटक–पटक यस विषयमा आवाज उठाउँदा समेत सरकारको यसमा ध्यान किन पुगेन?’ उनले सरकारलाई प्रश्न गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २२:५४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय