खेलकूद :

मधेसकै सबैभन्दा बढी पुरस्कार राशिको फुटबल प्रतियोगिता वीरगंजमा हुँदै

बिहीबार, कात्तिक २, २०८०

वीरगञ्ज । वीरगञ्जमा मधेस प्रदेशकै सबै भन्दा बढी नगद राशि पुरस्कारको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

National medical suchna

भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा कार्त्तिक १८ गतेदेखि ‘प्रथम वीरगञ्ज गोल्ड कप २०८०’ आयोजना गर्न लागेको हो ।

प्रतियोगिता बारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सबिन बस्नेतले कात्तिक १८ देखि कार्त्तिक २५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमले भाग लिने जानकारी गराए ।

उनका अनुसार, प्रतिगोयतामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, आयोजक वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कोलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको नर्थ जोन फुटबल टिमले भाग लिने भएका हुन् ।

प्रतियोगिताको उपाधि उपविजेताले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् ।

वीरगञ्जमा विगत पाँच वर्षपछि अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आयोजक क्लबका महासचिव पङ्कज श्रेष्ठले बताए ।

उनले वीरगञ्जको खेलकुद प्रवर्द्धनमा सङ्घ र प्रदेश दुवै सरकारले उपेक्षा गरिरहेको परिप्रेक्ष्यमा वीरगञ्जले पनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न सक्छ भन्ने सन्देश दिन यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

श्रेष्ठले भने, ‘वीरगञ्जमा रहेको देशकै दोस्रो ठूलो नारायणी रङ्गशाला जीर्ण अवस्थामा छ । त्यसको जीर्णेद्वारका लागि न त सङ्घ सरकारले न त प्रदेश सरकारले चासो लिएको छ ।

त्यसैले सरकारले उपेक्षा गरे पनि वीरगञ्जका हामी खेल प्रेमी आफैँले अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गर्न सक्छौ भन्ने सन्देश दिने उद्देश्यले यो प्रतियोगिता गर्न लागेका हौँ ।’

यसका साथै कुनै समय फुटबलको हबका रूपमा चर्चित वीरगञ्जमा केही वर्ष यता फुटबल खेल प्रतिको क्रेज घट्दै गएकाले फेरी फुटबलको क्रेज बढाउनका लागि पनि यो प्रतियोगिता गर्न लागिएको श्रेष्ठले बताए ।

वीरगञ्जको आदर्शनगर रङ्गशालामा हुने प्रतियोगितामा दर्शकका लागि प्रवेश शुल्क एक सय रुपैयाँ राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले बताए ।

सेमिफाइनलदेखिको खेलमा भने प्रवेश शुल्क दुई सय रुपैयाँ राखिएको जानकारी उनले गराए ।

प्रतियोगिता आयोजनास्थल आदर्शनगर रङ्गशालाको दर्शक क्षमता १० हजार रहेकामा प्रतियोगिताकै लागि भनेर ३ हजार दर्शक बस्न सक्ने क्षमताको अस्थायी प्याराफिटपनि निर्माण गरिएको जानकारी श्रेष्ठले दिए ।

फाइनल खेलको अघिल्लो दिन कार्तिक २४ गते नेपाल र भारतको महिला फुटबल टिमबिच मैत्रीपूर्ण खेल पनि हुने जानकारी उनले गराए ।

प्रतियोगिताको कूल खर्च लागत ८० लाख रुपैयाँ रहेकोमा मुख्य सहयोगी वीरगञ्ज महानगरपालिकाले २५ लाख रुपैयाँ दिएको क्लबका अध्यक्ष बस्नेतले बताए । आर्थिक सहयोगका लागि अन्य प्रयोजकहरूसँग पनि छलफल चलिरहेको उनले बताए ।

अध्यक्ष बस्नेतको सभापतित्व तथा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्ययतामा भएको पत्रकार सम्मेलनमा मधेस प्रदेश खेलकुद सङ्घका महासचिव दिपक साह कानु, पर्सा फुटबल सङ्घका अध्यक्ष अनिल कलवार, विनोद परियार लगायतकोपनि उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय