समसामयिक :

सिर्सिया नदी प्रदुषण गर्ने उद्योगलाई सीलबन्दी गरेर कारबाही गर्ने महानगरको तैयारी

सोमबार, असोज २९, २०८०

वीरगंज - तिहार तथा छठ पर्व अगाडी नै सिर्सिया नदी प्रदुषण नरोकिए सिलबन्दी गरेर उद्योगलाई कारबाही गरिने निर्णय भएको छ । 

National medical suchna

वीरगंज महानगरपालिकामा सोमबार उद्योगी व्यवसायी, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिबीच बसेको बैठकले उद्योगहरुबाट निस्कने रसायनयुक्त लेदो तथा फोहोर प्रशोधन गरेर मात्रै नदीमा पठाउनु पर्ने र त्यसो गरेको नपाए उद्योगहरु सील गरी नियम बमोजिम जरिबाना तिराउने निर्णय गरिएको हो ।  
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नदी प्रदुषण गरे उद्योगमा सिलबन्दी गरेर कारबाही गर्ने चेतावनी दिएपछि सिर्सिया नदीमा भइरहेको प्रदुषण नियन्त्रणका लागि आवश्यक काम गर्न उद्योगीहरु पनि तयार भएका छन् । 

यस अघि आजै बिहान महानगरपालिकाका मेयर सिंहको नेतृत्वमा सिर्सिया नदी प्रदुषणमा मुख्य भुमिका खेल्ने विभिन्न ६ वटा उद्योगहरुको अनुगमन भएको थियो ।  

विगतमा बारम्बार अनुगमन हुँदा समेत उद्योगीहरुले नदी प्रदुषण गर्न नछाडे पछि आज मेयर सिंह आफै अनुगमनमा पुगेर प्रदुषण गराउने उद्योगका संचालकहरुलाई बोलाएर नदी प्रदुषण रोक्न निर्देशन दिनुभएको हो । 

बैठकले वीरगंज महानगरभित्र संचालित हरेक उद्योगले ६÷६ महिनामा स्व. अनुगमन मुल्यांकन प्रतिबेदन महानगरमा बुझाउनु पर्ने निर्णय पनि गरेको छ ।  

यस्तै उद्योगीहरुले सिर्सिया नदीमा प्रदुषण गर्न नरोके वीरगंज महानगरपालिका र वातावरण संरक्षण ऐन २०७७ तथा वातावरण नियमावलीले तोके बमोजिमको कारबाही प्रकृया अघि बढाउने निर्णय भएको छ । 

बैठकमा मेयर सिंहले वीरगंजकै लाइफलाइनको रुपमा रहेको नदी प्रदुषण उद्योगीहरुले गरिरहेको भन्दै अब प्रदुषण गरेको भेटिए ठाउँको ठाउँ कारबाही गर्ने गरि संयन्त्र तयार पार्ने पनि बताउनुभयो । 

बैठकमा सिर्सिया नदी प्रदुषणमा मुख्य भुमिका खेलेका श्री सिद्धि टेक्सटायल्स, अरनिको प्रोसेसिङ, पाना पेपर्स, न्यू पशुपति इन्डस्ट्रिज, मरियम लेदर्स र ग्लोबल लेदर्सका संचालकले आफूहरु उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउन तयार रहेको बताए ।

महानगरले नदी प्रदुषण नियन्त्रणका लागि गरिरहेको काम सह्रानीय रहेको भन्दै उद्योगीहरुले आफूहरु पनि उद्योगमा पानी प्रशोधन केन्द्र राख्न र बोरिङबाट सफा पानी नदीमा हाल्ने व्यवस्था मिलाउन तयार रहेको बताए । 

बंठकमा अरनिको प्रोसेसिङ उद्योगका सोचन प्रसाद यादव, ग्लोबल लेदरका सरोज चौरसिया, सिद्धि टेक्सटायल्स र न्यु पशुपति इण्डस्टिजका अशोक मित्तल, मरियम लेदरका बालमुकुन्द चौधरी, पाना पेपर्स वकर्सका सुभाष पटेल लगायतको सहभागिता रहेको थियो । 

महानगरपालिकाले यस अघि ५ वटा उद्योगलाई नदी प्रदुषण गराउन प्रमुख भुमिका खेलेको भन्दै ३/३ लाख रुपैयाँ जरिबाना गरेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय