राजनीति :

कृषि औजार कारखाना सञ्चालनमा सरकार बाधक : प्रदीप यादव

बिहीबार, असोज २५, २०८०

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सरकारको लापरवाहीका कारण वीरगञ्जस्थित कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताएका छन् ।

सरकारले कृषि औजार कारखानाको जिम्मा समाजसेवी महावीर पुनलाई दिएपनि अनुदान वापतको रकम नदिँदा कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको यादवले बताएका हुन ।

पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले भने, "वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुन: सूचारु गर्ने जिम्मा सरकारले समाजसेवी महावीर पुनलाई दिएको थियो ।

उहाँले आफ्नो टोलीसँग कारखाना सञ्चालनमा ल्याएर परीक्षण समेत गरिसकेका छन् । तर उनलाई सरकारले दिनुपर्ने २७ करोड रुपैयाँ नदिँदा कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले सरकारले घोषणा गरेको रकम महावीर पुन लाई तत्काल उपलब्ध गराउन माग समेत गरे ।

त्यस्तै यादवले प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर निधन भएका नेपाली नागरिकहरूप्रति श्रद्धाञ्जली पनि अर्पण गरे ।

उनले इजरायलमा अझै पनि फसेका नागरिकहरूको उद्धार गरेर स्वदेश फिर्ता ल्याउनका निमित्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र परराष्ट्र मन्त्रीले देखाएको तदारुकताका लागि समेत आभार प्रकट गरे ।

यादवले डेङ्गु संक्रमणबाट अस्पतालमा उपचाररत उपराष्ट्रपति रामसहाय यादवको स्वास्थ्य लाभको कामना पनि गरे ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २१:१५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय