धर्म-कर्म :

आज इन्द्रजात्रा र अनन्त चतुर्दशी मनाइँदै

बिहीबार, असोज ११, २०८०

वीरगञ्ज । देवता इन्द्रको पूजाआराधना गरी बिहीबार इन्द्रजात्रा मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।

National medical suchna

भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिङ्गो उठाएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याउने प्रक्रियालाई इन्द्र ध्वजोत्थान भनिन्छ । लिङ्गो फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयामा काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्र ध्वजाको लिङ्गो तयार पारिन्छ ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका गणेश, भैरव र कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ ।

इन्द्र ध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाइन्छ ।

इन्द्र ध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको र्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।

अनन्त चतुर्दशी

भगवान् अनन्तनाथ (भगवान् विष्णु) को पूजा, आराधना गरेर श्रद्धापूर्वक व्रत बस्ने आजको दिनलाई अनन्त चतुर्दशी भनिन्छ । भाद्र शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ ।

धार्मिक मान्यता अनुसार जब पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र सम्मान हारेपछि उनीहरू जङ्गलमा श्रीमती द्रौपदीसँग कष्टकर जीवन बिताउँदै थिए । त्यस बेला भगवान् श्रीकृष्णले युधिष्ठिरलाई आजको दिन श्रद्धापूर्वक व्रत बस्न आग्रह गरेका थिए ।

भगवान् श्रीकृष्णको सल्लाह मान्दै पाँच पाण्डवले विधिपूर्वक अनन्त चतुर्दशीको व्रत बसे र यसै व्रतको प्रभावले पाण्डवहरूले आफ्नो कष्टकर जीवनबाट मुक्ति पाएका थिए ।

श्रावण शुक्ल पूर्णिमाका दिन अर्थात् जनपूर्णिमाको दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्र नपाएकाले आजै मन्त्रने गरेका छन् । आज चोखो धागोमा अनन्त मन्त्रणा गरी बाँध्नाले वर्षभर शुभ फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

यसरी बाँधिने धागोलाई “अनन्त सूत्र” भनिने गरिन्छ । यस सूत्रमा हुने चौध वटा गाँठोलाई चौध वटा लोकको प्रतीक मानिन्छ। यो सूत्र पुरुषहरूले दाहिने हातमा बाँध्ने गरेका छन् भने महिलाहरूले यसलाई बायाँ हातमा बाँध्ने गर्दछन् । 

हिन्दू धर्म अनुसार आजको दिन कुनै पनि शुभ कार्यको थालनी गर्नलाई उत्तम मानिन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय