शिक्षा क्षेत्रमा कार्वाही :

एनप्याब्सनकै जिम्मेवार व्यक्तिले अनुमति नलिई सञ्चालन गरेको कलेजमा महानगरको सिलबन्दी

बिहीबार, भदौ २१, २०८०

वीरगञ्ज - वीरगञ्ज महानगरपालिकाले बिहीवार थप २ वटा कलेजमा सिलबन्दी गरेको छ ।

National medical suchna

शैक्षिक संस्थाहरुलाई नियमन गर्न अनुगमन गर्ने क्रममा अनुमति नलिएर सञ्चालनमा रहेका २ वटा कलेजमा महानगरपालिकाले सिलबन्दी गरेको हो । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ स्थित सत्यम पब्लिक कलेज र वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित पर्सा म्यानेजमेन्ट कलेजमा महानगरले सिलबन्दी गरेको महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वर चन्द्र यादवले जानकारी दिनुभयो । 

वीरगञ्ज ८ पानीट्याङ्कीस्थित एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम कलेजको फर्जी नाममा विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले बताउनुभयो ।

सत्यम कलेजले रानीघाटस्थित शुभ तारा स्कूल भएको भवनमा कक्षा सञ्चालन गरिरहेको भेटिएको पनि उहाँले जानकारी दिनुभयो ।

निजी शैक्षिक संस्थाहरुको छाता संगठन र शैक्षिक संस्थाहरु नियमअनुरुप संचालन हुनु पर्छ भनेर आवाज उठाउनेहरु नै गैर कानुनी रुपमा फर्जी कलेज संचालन गरिरहेको भेटिएको छ ।

एनप्याब्सनसँग आवद्ध जिम्मेवार व्यक्तिले नै आफ्नो विद्यालयले लिएको कक्षा ११ र १२ को अनुमति आर्थिक लाभका लागि अन्यलाई विक्री गरेर संचालन गरेको भेटिनु शैक्षिक क्षेत्रका लागि डरलाग्दो अवस्था रहेको शिक्षा महाशाखाका अधिकृत नारायण चापागाईँ बताउनुहुन्छ ।  

महानगरले शिक्षा क्षेत्र सुधारका लागि अहिले कडा रुपमा प्रस्तुत भएर अनुगमन र कारबाही दुबैलाई सँगसँगै अघि बढाएको भन्दै उहाँले अब कुनै पनि बहानामा अनधिकृत रुपमा संचालनमा रहेका शैक्षिक संस्थालाई नछाडिने चेतावनी पनि दिनुभयो । 

समितिका संयोजक यादव नेतृत्वको अनुगमन टोलीले बिहीबार नै न्यू वेभ एकेडेमीले कक्षा ११ र १२ सञ्चालन गर्ने लिएको अनुमतिलाई दुरुपयोग गर्दै अन्य ठाउँमा नाम समेत परिवर्तन गरेर विद्यार्थी भर्ना गर्दै कक्षा सञ्चालन गरीरहेको पर्सा म्यानेजमेन्ट कलेजमा पनि सिलबन्दी गरेको छ । 

समितिका संयोजक यादवसँगै वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ता, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शिक्षा सल्लाहकार अभिषेक तिवारी, शिक्षा अधिकृत नारायण चापागाइँ, संचारकर्मी तथा स्थानीय प्रतिनिधि लगायतको टोलीले शैक्षिक संस्थाहरुको अनुगमनलाई निरन्तरता दिएको छ ।  

समितिले यस अघि मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा रहेको  प्रिन्सटन मोडेल एकेडेमी र प्रिन्सटन मोडेल एकेडेमीमा सिलबन्दी गरेको थियो ।  

सोमवार अन्नपूर्ण कलेज र युनिभर्सल एकेडेमीमा सिल गरेको थियो भने त्यसअघि वीरगञ्ज स्कुल अफ ल, इम्पेरियल कलेज र बिजि बी किड्समा सिल गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय