धर्म-कर्म :

आज श्रीकृष्ण जन्माष्टमी : देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईदै

बुधबार, भदौ २०, २०८०

वीरगञ्ज । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।

ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोह रात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखर विन्दुबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।

छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पूतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

यस अवसरमा आज वीरगञ्जको घडिअर्वास्थित प्रसिद्ध गीता मन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी देशका अन्य स्थानमा रहेका कृष्ण मन्दिरहरूमा पनि भक्तजनको भीड लाग्छ ।

देशका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ ।

आज कृष्ण जन्माष्टमी पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय