सोसल मिडिया
हाम्रो बारेमा
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आत्मसमर्पणका लागि जेल पुगेका छन् ।
ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेको बिबिसीले उल्लेख गरेको छ । जेलमा हाजिर भएका उनलाई २ लाख डलरको जमानतमा उनी रिहा भएका छन् । ट्रम्पमाथि सन् २०२० को राष्ट्रपतीय चुनावको परिणाम उल्टाउने प्रयास गरेको आरोप लागेको थियो ।
यस्तै, ट्रम्पको मग शट (अनुहारको तस्बिर) लिइएको छ । अमेरिकी कानुनका अनुसार प्रहरीले आरोपितको फोटो खिच्नुलाई मग शट भनिन्छ । ट्रम्पको औँठाछाप लिई अनुहारको तस्बिर लिइएको बिबिसीले जनाएको छ । अमेरिकामा यस्तो मग शट जारी हुनेमा ट्रम्प पहिलो पूर्व राष्ट्रपति भएका छन् ।
ट्रम्प जेल पुगेपछि त्यहाँ बाहिर उनका समर्थकहरूको भिड लागेको थियो । ट्रम्पले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् ।
जेलमा छोटो प्रक्रियामा सामेल भएपछि रिहा गरिने बित्तिकै ट्रम्प जोर्जिया राज्यबाट फर्कन विमानस्थल पुगेका थिए । त्यहाँ उनले टिप्पणी गर्दै आफू निर्दोष भएको र सन् २०२० मा वास्तवमै निर्वाचनमा हस्तक्षेप भएको बताए ।
‘निर्वाचनलाई चुनौती दिन पाउनुपर्छ । मलाई विश्वास छ त्यो निर्वाचन धाँधलीपूर्ण थियो, ‘उनको विमानबाहिर पर्खिरहेका पत्रकारहरूलाई उनले भने, ‘मैलै कुनै गल्ती गरेको छैन र यो सबैलाई थाहा छ ।’
सन् २०२४ मा पुनः राष्ट्रपति निर्वाचनमा लड्न लागेका ट्रम्प सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो । यसअघि बुधवार ट्रम्पका पूर्व वकिल रुडि जुलियानी तथा अन्य प्रतिवादीहरूले पनि सोही मामिलामा फुल्टन जेलमा आत्मसमर्पण गरेका थिए ।