कर वृद्धि

भारतले प्याजमा लगायो ४० प्रतिशत निर्यात कर, नेपालमा मुल्य बढ्ने

आइतबार, भदौ ३, २०८०

वीरगञ्ज । भारत सरकारले प्याजमा तत्काल लागू हुने गरी ४० प्रतिशत निर्यात कर लगाएको छ ।

National medical suchna

भारतको आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि अर्थ मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

शनिवार सूचना जारी गर्दै भारतको अर्थ मन्त्रालयले उक्त कर तत्काल लागू हुने जनाएको छ ।

यसबाट घरेलु बजारमा बढ्दो प्याजको मूल्यवृद्धिलाई नियन्त्रणमा राख्न सकिने र आन्तरिक बजारमा सहज आपूर्ति गर्न मद्दत पुग्ने बताइएको छ ।

जुलाई महिनामा मात्रै भारतमा तरकारी तथा खाद्यान्नको मूल्य १५ महिनायताकै उच्च वृद्धि भएपछि सरकारलाई मूल्य वृद्धि नियन्त्रणका लागि एक्सन लिनुपर्ने दबाबका बिच प्याजको निर्यात कर उच्च बनाइएको हो ।

भारतीय भान्छामा प्याजको अधिक प्रयोग हुने गर्छ ।‘निर्यात कर बढाइदिँदा भारतीय प्याज पाकिस्तान, चीन र इजिप्टको भन्दा महँगो पर्न जान्छ ।

यसले भारतबाट निर्यातको सम्भावनालाई घटाउँदै लैजान्छ र स्थानीय बजारमा प्याजको मूल्य घटाउन मद्दत पुग्छ।

भारतमा जुलाईदेखि अगस्टसम्मको अवधिमा मात्रै प्रमुख बजारहरूमा औसत थोक मूल्यमा करिब २० प्रतिशतले मूल्य वृद्धि भइसकेको छ ।

खण्डवृष्टिका कारण प्याजको उत्पादन आगामी दिनमा अझ प्रभावित हुने अनुमान गरिएको छ । भारतमा अगस्ट महिनालाई सबैभन्दा सुख्खा महिनाको रूपमा लिइन्छ र धेरै भूभागमा पानी पर्दैन ।

भारतमा सुख्खा महिनामा प्याज चाँडै कुहिने र नयाँ उत्पादन आउन पनि समय लाग्ने भएकाले भाउ महँगो हुन्छ । स्थानीय बजारमा नै प्याज महँगो हुने हुँदा सरकारले मूल्य नियन्त्रणका लागि उच्च कर लगाउने निर्णय गरेको हो ।

सन् २०२३ को पहिलो ६ महिनामा मात्रै प्याजको निर्यात गत वर्षभन्दा ६३ प्रतिशतले बढी भएको छ । त्यसैले पनि भारत सरकार प्याजको निर्यात घटाउने मुडमा पुगेको हो । गत महिना मात्रै भारतले बासमती बाहेकका अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।

नेपाल, बङ्गलादेश, मलेसिया, यूनाइटेड अरब इमिरेट्स र श्रीलङ्काका तरकारी बजारहरू भारतीय प्याजमा अधिक मात्रामा निर्भर छन् । भारतको यस निर्णयले नेपाल लगायत ती देशहरूमा पनि प्याजको मूल्य तथा आयात प्रभावित हुने छ ।

एक तरकारी व्यवसायीका अनुसार भारतमा प्याजको निर्यात कर बढ्दा निश्चित रूपमै नेपालमा महँगो हुने बताउँछन् । उनका अनुसार हाल नेपाली बजारमा अधिकांश प्याज भारतबाटै आउँछ । सिजनल मात्र घरेलु उत्पादन हुने भएकाले नेपाली भान्छा भारतीय प्याजमा नै निर्भर रहँदै आएको छ ।

‘हाम्रो भान्छामा खपत हुने ९९ प्रतिशत प्याज भारतबाटै आयात हुने भएकाले यो निर्णयले नेपाल प्रभावित हुन्छ ।

आज लोड भएर आउँदा प्याज भोलिसम्म आइपुग्ने भएकाले तत्काल बढिसकेको भने छैन । बढी कर सहितको लट आइपुग्दा महँगिएर आउँछ,’ उनले भने ।

चीनबाट केही मात्रामा प्याज आए पनि नेपाली उपभोक्ताले चिनियाँ प्याज खासै नरुचाएको उनले बताए । ‘भारतीय प्याज महँगो भएपछि विकल्प खोज्न त सकिन्छ ।

तर यसको प्रक्रिया र बाटो लामो भएकाले तत्काल महँगै भए पनि भारतीय प्याज उपभोग गर्नुपर्ने बाध्यता हुन्छ । फेरि ग्राहकको प्रिफरेन्सको पनि कुरा आयो,’ उनले भने ।

उनका अनुसार चाइनिज प्याजको स्वाद केही फरक, बढी पानी बोक्ने तथा दाना धेरै ठूलो हुने भएकाले उपभोक्ताले यसअघि पनि त्यति रुचाएका थिएनन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय